Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

चलचित्र ‘जात्रै जात्रा’ सिक्वेल चलचित्रकाे सफल अवतरण र कमेडीकाे एक बुलन्द स्तम्भ ( समीक्षा)

1 min read
कमेडी  चलचित्र मात्रै मनपराने दर्शकका लागि चलचित्र जात्रा हेर्नेपर्ने चलचित्र हो । यदि स्वस्थ मनोरञ्जन लिन चाहनुहुन्छ भने छुटाउनै नहुने चलचित्र हो । चलचित्र नगरिमा चलेको चलचित्रको शैली देखासीकी चलन पुरानै हो, अब बन्ने चलचित्रले 'जात्रै जात्रा' शैलीलाई अपनाए भने दर्शक र नेपाली चलचित्रका जगतकै लागि फाइदाजनक कुरा हो । जात्रै जात्राले कमेडी चलचित्रकाे एक बुलन्द स्तम्भ खडा गरेकाे छ । जुन पुरानाे चलचित्रकाे अाडमा उडान भरेका कमै सिक्वेल चलचित्रकाे माझमा एक  सफल अवतरण हाे ।

सेताेपर्दा

नेपाली चलचित्र क्षेत्रमा कुनै चलचित्र चल्यो भने त्यसको सिक्वेल वा सिरिज बनाउनु सामान्य जस्तो भैसकेको छ । त्यस्तै चलिआएको चलनलाई आत्मासाथ गर्दै शुक्रबारदेखि देशैभर चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनमा आएको छ । ‘जात्रै जात्रा’ करिब दुई बर्ष पुरानो चलचित्र जात्राको निरन्तरता हो । हाँस्यप्रदान चलचित्रको भिडमा फरक पहिचान बनाएर सिच्वएनल कमेडीलाई आत्मासाथ गरेर वाहवाहि कमाएको ‘जात्रा’को सिक्वेलको रुपमा भित्रीएको चलचित्र हो जात्रै जात्रा ।
यो भुईमान्छेको कथा बोल्ने एक मौलिक चलचित्र हो, जसका पात्रहरु का सामान्य सपना र इच्छा छन् । न त ती पात्रहरु सँग कुनै अलौकीक शक्ती छन् । यी पात्रहरु मात्र भुईमान्छे हुन जसका सामान्य मान्छेका जस्तै उतार चढाव हुन्छन्, सपना हुन्छन् र अति सामान्य उल्झनलाई समेत थेग्न सक्दैनन् आम मानिस जस्तै ।
जात्रै जात्रा पुरानै चलचित्र जात्राको निरन्तरता हो । तीन साथीहरुको कथा, जुन गर्दै नगरेको करतुतमा जेल भुत्तानी गरेर नयाँ जीवनको लागी सर्घष गर्छन् । आफ्नी श्रीमती र बच्चासँग खुशि साथ जीवनको सुरुवात गर्ने इच्छारत एक श्रीमान् फडिन्द्र, उसैको छोरा र श्रीमती शम्पु । श्रीमतीलाई सुख सँग राख्न चाहने एक अर्को श्रीमान्, पखाईमा तराई मै बसेकी श्रीमती । बाबुको श्राद्घका लागि घर हिडेको जोयस तीन साथी र सुन तस्कार बिचमा आउने उतारचढाव बिच चलचित्र घुमिरहन्छ ।
नेपाली चलचित्र जगतमा अहिले सबैभन्दा चलेको भनेको हाँसो अर्थात कमेडी हो । हँसाउनु भन्ने बित्तिकै जबरजस्ती द्वअर्थी शब्द र लाजमर्दो हाउभाउबाट ग्रसित तथाकथित हाँस्य चलचित्र भन्दा माथि उठेको चलचित्र हो जात्रै जात्रा । यसको मुख्य श्रेयका भागिदार चलचित्रका लेखक तथा निर्देशक प्रदिप भट्टराई हुन् । जसले चलचित्रमा सस्तो कमेडि भन्दा माथि उठाएर स्वभाविक हास्यरस भरेकाछन् ।
जात्रै जात्राको मुख्य द्वन्द जात्राको जस्तै गरिबी हो । जब गरिबीमा लोभ भित्रीन्छन् तव चलचित्रको संरचनाले गति लिन्छ । चलचित्रको कथा सामान्य नै हो अझ भनौ जात्रा र जात्रै जात्राको कथ्य संरचना पनि उस्तै हो । तर स्यंम लेखक समेत रहेका प्रदिपको पटकथाको संरचना बलियो भएकाले जात्रामा देखिएका उहि पात्र र उनिहरुको मनोविज्ञानलाई चलचित्र भर रोमान्चक र प्रभावकारी बनाएकाछन् । जति निर्देशकको रुपमा अब्बल लाग्छन् पटकथाकारको रुपमा समेत उनको सजगता प्रष्ट देखिन्छ ।

चलचित्र कथ्य संरचना, पटकथामा जति नै मेहनत देखिन्छ, त्यती नै मेहनत र सजकता संवादमा पनि भेटिन्छ । चलचित्र अर्को बलियो पाटो भनेको दृश्य पनी हो । नेपालमा चलचित्रलाई दृश्यप्रधान विधाका रुपमा नमानी जबरजस्ती संवादले बाध्ने सर्जकहरुका लागी निर्देशकले कतिपय दृश्यहरु जीवन्त बनाएका छन् । ठेलामा सेलरोटि बेच्दै गरेकी श्रीमतीलाई ट्याक्सीबाट चिहाएर मौन माया साटासाट जीवन्त लाग्छन् । हँसाउन जति प्रयत्न गरेको छ चलचित्रमा पात्रहरुलाई मौन राखेर भावनात्मक हिसाबले समेत बाध्ने प्रयत्न निर्देशकको काम अब्बल लाग्छ ।
प्रायजसो सिक्वेलमा पुरानै पात्रहरु दोहोरिने हुदा ती पात्रहरु सँग दर्शकहरुलाई बाध्ने ल्याकत कमहुनु सबैभन्दा ठूलो कमजोरि रहन्छ । तर चलचित्रमा यसलाई पटकथाकार र निर्देशकले सजक भएर संरचना खडा गरेकाछन् । जसकारण दर्शकहरु पहिले पात्रहरु परिचित र परिभाषित भएपनि उनिहरुको प्रतिको चेष्टा र चासोले अन्तिम सम्म बाधिरहन्छ ।
कमेडी भन्ने बित्तिकै चिच्याहट र अस्लिलता पस्कने प्रवृतिका फिल्मकालागि जात्रै जात्रा र्निविवाद उच्चकोटिको चलचित्र हो । तर चलचित्रमा पात्रहरुको मिलनका लागि प्रयोग गरिएको भ्वाईस ओभर र छोराको आमा बाबुलाई आइडल मान्ने संवाद क्लिसे लाग्छ ।

फडिन्द्रको भूमिका देखिएका विपिन कार्की यो चलचित्रमा अझै परिपक्क फडिन्द्र बनेकाछन् । जात्रा हेरे फडिन्द्रको पात्रसँग परिचित दर्शककालागि पनि उनले निरास बनाएका छैनन् । बरु बर्षौपछि फडिन्द्र भेटेर न्यास्रो मेटिएको अनुभूति दर्शकले गर्नेछन् । मा बनाएको आफ्नो ट्याक्सी ड्राईभरदेखि, जड्याह श्रीमान्, सुन लुकाएर झुट बोल्ने पात्र सम्म उनि स्वभाविक र दमदाम देखिन्छन् । रविन्द्र झा र रबिन्द्र सिंह बानिया फिट बनेका छन् । जात्रा हेरेका सम्पदा उर्फ सम्पुलाई ज्याद मिस गर्नेछन् । जात्राबाट जात्रै जात्रामा आउदासम्म विपिन कार्की जति परिष्कृत बनेकाछन् त्यसको दाजोमा सम्पदा फिट लाग्छिन् । दयाहाङ राई सप्राइज पात्र हुन्, जसले जात्रका पुरानै पात्रहरुको भिडमा नयाँ पात्रको ताजगी ल्याइदिने काम गरेकाछन् । दयाका प्रशंसकका लागि समेत सप्राइज प्याकेजको रुपमा आफूलाई उभ्याएकाछन् । ट्याक्सी साहु र सुन दलालीको भूमिका देखिएका राजाराम पौडेल चलचित्रका अर्का ताजगी हुन् । मुख्य सुन तरस्करको रुपमा सोहित मान्नधर स्वभाविक लाग्छन् ।

चलचित्रको पथप्रदर्शक पटकथा, मुख्य नाईके निर्देशक र यात्रा गर्ने यात्री कलाकार मान्ने हो भने जात्रै जात्रा यि तिन सहयात्रीहरुको दमादार संयोजन हो । निर्देशकको सोचलाइ जीवन्त बनाउन कलाकारले भरपुर मेहनत र लगाव देखाएकाछन् । निर्देशकको मस्तिष्कको सोचलाई छायाकारले मूर्तरुप दिन गरेको मेहनत सार्थक छ । जसलाई सम्पादकको कैचिले काटछाट गरेर अझ सुन्दर बनाउन गरेको मेहनत प्रष्ट देखिन्छन् । चलचित्रमा खड्किने पक्ष पाश्र्वध्वनी हो समग्र चलचित्रमा सबैपक्ष दमदार भएर होला पाश्र्वध्वनीको तालमेल कुनैकुनै दृश्यसँग मेल नभएको महसुस हुन्छ । गीत संगीत जति अब्बल छन् त्यति नै चलचित्रमा भएको प्रयोग अनुसार बुलन्द बनेका छन् ।
समग्रमा चन्द्रमामा पनि दाग हुन्छ भनेजस्तै जात्रै जात्राका सवल पक्षले चलचित्रको दुर्वल पक्षलाई झपक्कै ढाक्छ । पटकथा माथि हेलचेक्राइ गर्ने सर्जककालागि सिकाई हो भने । कर्मसियलको नाममा भल्गर र द्वअर्थी शब्द राखेर मात्र हँसाउन सकिन्छ भन्ने मानसिकता राख्नेहरुकालागि प्रतिकारात्कम झापड हो । सिक्वेलको नाममा अघिल्लो चलचित्रको ख्यातीलाई समेत चुर्लुम्म डुवाउनेहरुका लागि उदाहरण हो जात्रै जात्रा । कमेडी  चलचित्र मात्रै मनपराने दर्शकका लागि  ‘जात्रै जात्रा’ हेर्नेपर्ने चलचित्र हो । यदि स्वस्थ मनोरञ्जन लिन चाहनुहुन्छ भने छुटाउनै नहुने चलचित्र हो । चलचित्र नगरिमा चलेको चलचित्रको शैली देखासीकी चलन पुरानै हो, अब बन्ने चलचित्रले ‘जात्रै जात्रा’ शैलीलाई अपनाए भने दर्शक र नेपाली चलचित्रका जगतकै लागि फाइदाजनक कुरा हो । जात्रै जात्राले कमेडी चलचित्रकाे एक बुलन्द स्तम्भ खडा गरेकाे छ । जुन पुरानाे चलचित्रकाे अाडमा उडान भरेका कमै सिक्वेल चलचित्रकाे माझमा एक  सफल अवतरण हाे ।

वर्षा राउतसँगकाे अन्तरवार्ताः

Comments

comments