Wed. Aug 5th, 2020

Seto Parda

Digital Film Patrika

फिल्म समीक्षा : कबड्डी कबड्डी

1 min read
मुस्ताङको नौरीकोटको हिमाली परिवेश र त्यहाँको थकाली समुदाय धेरै दर्शकका लागि ताजा लागेको थियो । मामा चेला र फुपु चेलीबीच बिहे गर्ने थकाली परम्पराभित्र काजीले मामाकी छोरी मैयाँलाई देखाएको झोडी माया थप रुचीकर बन्यो । ‘कबड्डी’ को सिक्वेलले दर्शक तान्नु जति सजिलो थियो, उस्तै चुनौती सकारात्मक प्रतिक्रिया निकाल्नुमा थियो निर्देशक रामबाबुका लागि । ‘कबड्डी कबड्डी’ ‘सरप्राइज प्याकेज’ भन्दा बढि ‘कन्भिन्सिङ प्याकेज’ हुनु र बनाउनु पर्ने थियो । यसमा पटकथाकार समेत रहेका रामबाबु चुकेनन् । ‘कबड्डी कबड्डी’ आईपुग्दा उनी धेरै परिपक्व देखिएका छन् ।

फिल्म : कबड्डी कबड्डी
निर्देशक : रामबाबु गुरुङ
कलाकार : दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, उपेन्द्र सुब्बा, शिशिर बाङदेल, पुष्कर गुरुङ, कविता आले, पशुपति राई, अरुणा कार्की, कमलमणी नेपाल आदी ।
सेतोपर्दा टिम
भनिन्छ, युद्ध र प्रेममा हरेक कुरा जायज हुन्छ । विरकाजीले मैयाँलाई कति प्रेम गर्छ, ‘कबड्डी’ मा हेरिसकेका दर्शकका लागि त्यसको सिक्वेल ‘कबड्डी कबड्डी’ मा उसले बिहे गर्ला ? वा फेरि शहरिया केटो आएर भाँजो हाल्ला ? ‘कबड्डी कबड्डी’ को कथानक रोचकता यसैको सेरोफेरोमा घुमेको छ ।
‘कबड्डी’ शहरिया दर्शकका लागि ‘सरप्राइज प्याकेज’ का रुपमा आइदियो । पटकथामा रहेका केही कमजोरीका बाबजुद पनि फिल्मको स्वादलाई अर्गानिक मानिदिए दर्शकले । खुराक नै स्वास्थ्यकर भयो भने कहिलेकाहीं पकाईको कमजोरी गौण रहन्छ भन्ने ‘कबड्डी’ ले सिद्ध गरिदियो ।
मुस्ताङको नौरीकोटको हिमाली परिवेश र त्यहाँको थकाली समुदाय धेरै दर्शकका लागि ताजा लागेको थियो । मामा चेला र फुपु चेलीबीच बिहे गर्ने थकाली परम्पराभित्र काजीले मामाकी छोरी मैयाँलाई देखाएको झोडी माया थप रुचीकर बन्यो ।
‘कबड्डी’ को सिक्वेलले दर्शक तान्नु जति सजिलो थियो, उस्तै चुनौती सकारात्मक प्रतिक्रिया निकाल्नुमा थियो निर्देशक रामबाबुका लागि । ‘कबड्डी कबड्डी’ ‘सरप्राइज प्याकेज’ भन्दा बढि ‘कन्भिन्सिङ प्याकेज’ हुनु र बनाउनु पर्ने थियो । यसमा पटकथाकार समेत रहेका रामबाबु चुकेनन् । ‘कबड्डी कबड्डी’ आईपुग्दा उनी धेरै परिपक्व देखिएका छन् ।
‘मनी एट्रयाक मनी’ भन्ने बुझेको काजी मैयाँसँगको माया पनि सोझै पाराले सोच्छ । भन्छ, ‘लभ एट्रयाक लभ । त्यो मनले यो मनको कुरो एकदिन कसो नबुझ्ला र ?’ तर काजीको लभको स्क्रिप्ट यति जटिल बनेर आईदिन्छ, जब बमकाजीले इन्ट्री मार्छ । मैयाँ काजीकै जस्तै बमकाजीकी पनि हकदार सोल्टि त हुन् नै, बिहेकै लागि पनि ताक्छ । ‘कबड्डी कबड्डी’ को चुरो कुरा यसैमा छ । उपकथा बनेर देखिने संसदिय चुनाव काजीको प्रेम जाँच्ने कसी बन्छ ।

kabaddi kabaddi lad
काजीको प्रेममा बमकाजीको राजनीति त घुसेकै थियो । अब चुनावले राजनीतिमा प्रेम पनि घुसेपछि काजीको धर्मसंकट बढ्छ । एकातर्फ ठूलाबा, अर्कातर्फ मामा उम्मेदवार । ठूलाबातर्फ पार्टीको सैद्धान्तिक समानता, मामातर्फ मैयाँको तूरुप । काजीले सिद्धान्त छोड्ने वा मैयाँ ? प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छ । काजीले मैयाँ रोज्छ । तर नैरीकोटको कच्ची बाटो अफ्ठ्यारो मात्रै छैन, बांगोटिंगो पनि छ ।
प्राविधिक पक्षमा ‘कबड्डी कबड्डी’ अघिल्लो भन्दा परिस्कृत छ । हिमालको काखमा रहेको गाउँमा खिचिएको फिल्मका दृश्य जस्ताको तस्तै टपक्क टिप्न सफल छन्, छायांकार शैलेन्द्रध्वज कार्की । कथा र चरित्रको मुडको व्याकरणमा खिच्न रुचाउने शैलेन्द्रले धेरै हदसम्म दृश्यलाई न्याय गरेका छन् । पृष्ठभुमि संगीत पनि मुड अनुरुप फिट छ । संवाद छरिता र चोटिला छन् । कमेडी पन्चमा संवाद सबल देखिन्छ ।
अभिनयमा दयाहाङ बेजोड लाग्छन् । प्रेम र तिरस्कारको मझदारबाट गुज्रेको काजी, घर छोडेर मावली राजनीतिको परिबन्दमा परेको बिरकाजी अनि शहरीया ठाँटमा फुर्तिसाथ गाउँ घुसेको बमकाजीसँग प्रेमका खातीर पैंठेजोरीमा बारम्बार हार्ने आशिक प्रेमी, सबै चरित्र र परिस्थितीको मुडमा चुर्लुम्म भिजेका छन्, दयाहाङ । संवाद थोरै तर अनुहार अभिव्यक्ति बढि दिने मैयाँको चरित्रमा रिश्मा गुरुङले सुगन्ध थपेकी छन् । बिके र छन्त्यालको चरित्रमा यसपाली पनि बिजय बराल र बुद्धि तामाङले दर्शक हसाँउने जिम्मा राम्रैसँग पुरा गरेका छन् ।
तर, काजीको प्रेममा बम बनेर फुट्न सकेको छैन बमकाजी । शहरदेखि गाउँ जानु र मैयाँ पाउनका लागि काजीसँग ज्यानकै बाजी लगाएर भिडन्तमा उत्रनुमा बमकाजीका लागि ठूलो तर्क छैन । पटकथा बमकाजीप्रति असहिष्णु लाग्छ । र, सँगसँगै मैयाँ नौलो र अजिब बमकाजीप्रति आशक्ति देखाउनु पछाडी पर्याप्त कारण छोड्न चुकेको छ, फिल्म । केवल सौगातलाई उक्त चरित्रमा देखाएर मात्रै मैयाँको ऊप्रतिको प्रेम आशक्ति र काजीसँगको टसलको सहज अनुमान लगाउन दर्शकलाई बाध्य पारिएको छ । बमकाजीको शहरको विगतले दर्शकमा खासै ऊप्रति सहानुभुती जाग्दैन जति पटकथाले खोजेको छ ।
सहायक चरित्रहरुले यसपटक पूर्ण उपकथा पाएका छन् । पत्निलाई सन्तान सुख दिलाउन नसकेको ‘नामर्द’ छन्त्यालको विवशता, झाँक्रीको बठ्याई, शहरबाट आएकी सुकोमल नायिका निर्जलासँगको बिकेको अपुरो प्रेम जस्ता प्लटहरु ‘कबड्डी कबड्डी’ मा चटनीका रुपमा आएका छन्, ट्वाक्क । काजी र बमकाजीबीचको मुख्य द्वन्द्व जबरजस्त हुन नसक्नुको फाइदा सहायक पात्रले भरपुर उठाएका छन् । जसले गर्दा फिल्मको मध्यभागमा पुगेपछि दर्शकलाई फिल्मको गति केही सुस्त लाग्न सक्छ । काजी र बमकाजीबीच मनोवैज्ञानिक द्वन्द्वमा फितलो बनेको पटकथाले दर्शकमा भौतिक द्वन्द्व ठोसेको छ । अर्गानिक स्वादको ओकालत गर्ने ल्याकत राख्ने ‘कबड्डी कबड्डी’ ले सुत्रबद्ध फिल्मकै शैलीमा सनातन द्वन्द्व दृश्यलाई अँगाल्नुले हजम गर्न केही गाह्रो पर्छ । फाइटलाई पनि कमेडी बनाउने प्रयास फितलो लाग्छ । त्यसैगरी सिक्वेलले ‘कबड्डी’ मा छन्त्याल र बिकेले विदेश जान देखेको सपनाबारेमा सम्बोधन गर्न चुकेको छ । यसपटक दुवै पात्र अस्वभाविक रुपमा त्यसमा मौन बनाइएका छन् ।

Comments

comments