Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

स्वयं रेखा नै मेरो प्रतिष्पर्धी हो : रेखा थापा

1 min read
रेखा थापा कीन टेम्पो चालक भएकी छ त ? यो पनि सोचनीय कुरा छ । रेखा थापा भनेकी एउटा मजदुर हो । जो कोही पनि काम गर्ने मान्छे मजदुर हो । टेम्पो चलाउने ती महिलाहरु कति हेपाहा प्रवृत्तिको शिकार हुनुभएको होला ? कस्ता कस्ता खालका मान्छे चढ्लान् त्यो टेम्पोमा ? उनीहरुले कसरी झेलिरहेका छन् ? र ती महिलाले कसरी विद्रोह गरेर अघि बढ्छन् ? यावत् कुराहरु छन् । यो नितान्त मजदुरप्रति समर्पित फिल्म हो । त्यसैले पनि ‘रामप्यारी’ मेरो जिवनकालकै उत्कृष्ट फिल्म बन्नेछ । त्यसरी नै मन पराउनु हुनेछ । मेरो टाइपको फिल्म बनेको छ । डबल रोल छ मेरो यसमा । आज सस्पेन्स खोल्दिएँ ।

मोरंगबाट फिल्म खेल्नकै लागि १६ वर्षे उमेरमा काठमाडौं छिरेकी रेखा थापालाई हिरोइन बनायो फिल्म ‘हिरो’ ले । निर्माता छवीराज ओझाले फिल्मको मात्रै बनाएनन्, आफ्नै वास्तविक जिवनको समेत ‘हिरोइन’ बनाएर होमप्रोडक्सन फिल्ममा निरन्तरता दिए । ढुंगा माटोको भर, माटो ढुंगाको भर भने झैं एक दशक छवी र रेखाको सहकार्य फिल्म क्षेत्रका लागि फलदायी रह्यो । तर उनीहरुकै वैवाहिक सम्बन्धमा भने हुन सकेन । सम्बन्ध विच्छेद भएपछि पनि रेखा एक्लैले करिअरलाई गति दिईरहिन् । ‘हिम्मतवाली’ निर्देशन समेत गरेकी उनी यतिबेला ‘रामप्यारी’ मार्फत् दोहोरो भुमिकासहित दर्शकमाझ आउन लागेकी छन् । फिल्म बाहेक प्रत्यक्ष राजनीतिमा ‘छिटै’ आउन लागेको बताउने उनीबारे सेतोपर्दाले गरेको कुराकानीको सम्पादित अंश :

अझै पनि रेखा थापा हिरोकै अघिपछि नाच्दै रमाउँदै फिल्ममा खेल्ने प्रेमिकाको भुमिकामा अझैपनि फिट छु भन्ने लाग्छ ? की भुमिका परिवर्तनको सोचमा हुनुहुन्छ ?
टिन एजमा छँदा हिरोको अघिपछि नाच्ने लभर गर्ल भएर पनि खेलें । हुन त अहिले पनि लभर गर्ल भएर खेल्दा फरक त केही पनि पर्दैन । तर पछिल्लो समय मैले भुमिकालाई परिवर्तन गर्न खोजेकै हुँ । नायिकाहरु सधैं पुरुष पात्रकै पछाडी हुनुपर्छ भन्ने मेरो मान्यता हैन । र, हामी आफैंले पनि दर्शकको मनमष्तिस्कमा बास बस्न सक्छौं । महिला पात्रको नामबाट पनि फिल्म चल्नु पर्छ भन्ने मेरो मान्यता हो । पहिल्यैदेखिको विद्रोही स्वभावले गर्दा पनि होला, पाँच/छ वर्षयता आफैं शीर्ष भुमिकामा खेल्दै हिरोइज्म भएको फिल्म पनि बनाईरहेकी छु । यस्तै अफर आउँदा बाहिरको पनि गरेको छु । महिला शसक्त रुपमा देखाइएको फिल्म बढि मन पर्छ ।

 

रेखा भन्नासाथ अझै पनि छोटो स्कर्ट लगाउने ग्ल्यामर नायिकाकै रुपमा चिन्छन् । तपाई यही छवीलाई कायम गर्न चाहनुहुन्छ वा परिवर्तन गर्न ?

रेखा थापा ग्ल्यामर्स नायिका नै हो । हरेक नायिका, हरेक कलाकार, हरेक सफल व्यक्तिहरु ग्ल्यामर्स नै देखिन्छन् । ग्ल्यारमको आ–आफ्नै ढंगले मुल्यांकन र परिभाषित गरिएको होला । तर छोटो वस्त्र लगाउँदैमा त्यो ग्ल्यामर्स देखिन्छ भन्ने मेरो मान्यता हैन । र, मेरो पोशाकको कुरा, मैले अहिलेसम्म त्यस्तो पारदर्शी लुगा लगाएको जस्तो त लाग्दैन । स्कर्ट, हाफ पाइन्ट भनेको त नर्मल कुरा हो । त्यो मेरो उमेरलाई पनि सुहाउँछ र मलाई पनि असाध्यै सुहाउँछ । त्यसकारण मैले लाउने हो । पादर्शी लुगा, अंग प्रदर्शन र भल्गारिटी म आफैं पनि मन नपराउने मान्छे हुँ । किनकी त्यस्तोमा ममी, दाईसँग बसेर टिभि हेर्दा म आफैं पनि उठेर हिंड्नुपर्ने बाध्यता हुन्छ । हाम्रो संस्कार भिन्न छ । धर्म, संस्कृती मान्ने हामी नेपाली सँगै बसेर हेर्दा आँखा छोप्न नपरोस् । हो, त्यस्ता फिल्म पनि बनें । तर म समाज, परिवारलाई सम्मान गर्ने भएकाले मेरो कारणले कसैले आँखा छोप्न नपरोस् । मलाई आइडल मान्ने स–साना भाईबहिनीहरु पनि छन् । अहिले पनि त्यस्ता नानीहरुले रेखा थापाको जस्तै मिनिस्कर्ट किनिदिन भनेको सुन्छु । त्यो मेरो लागि उपलब्धि हो । तर छोटो लुगा लगाएकैले कसैले ग्ल्यामर्स भन्छ भने मलाई चित्त बुझ्दैन । सुन्दरतामा ग्ल्यामर हुने हो । आकर्षण हुने हो । लक्ष्मिप्रसाद देवकोटा पनि उहाँको लेखनीका कारण ग्ल्यामर्स छवी बोकेको कवि हुन् ।

rekha thaapa

तपाई यतिबेला समकालीन नायिकामा कसलाई बढि प्रतिष्पर्धी मान्नुहुन्छ ? वा को भईदेओस् जस्तो लाग्छ ?

हिजोका दिनमा पनि मैले आफ्नो प्रतिष्पर्धी समयलाई बाहेक अरुलाई मानिनँ । मेरो लागि समय र स्वयं रेखा थापा नै प्रतिष्पर्धी हो । पहिलो फिल्म ‘हिरो’ मा गरें र त्यसपछिको फिल्म अझ राम्रो गरें की गरिनँ भन्ने हुन्छ । नत्र यो कुनै ब्युटि प्याजेन्ट हैन की हामी सबै प्रष्तिष्पर्धा गरिरहेका छौं । हरेकको आफ्नै अभिनय शैली छ ।

 

नेपाली फिल्म क्षेत्रमा महिला र पुरुष कलाकारबीचमा भेदभाव छ की छैन ? महिला कलाकारका समस्या के देख्नु भएको छ ?

लैगिंक विभेद छ । नायिका भनेपछि नायकलाई जति रेस्पोन्स नगर्ने पनि देखिन्छ । तर तपाई कस्तो प्रकारको महिला हुनुहुन्छ ? त्यसले पनि निर्धारण गर्छ । तपाई चाकडी प्रवृत्तिबाट फिल्म क्षेत्रमा आउनु भएको छ की ? रोईकराई गरेर आउनु भएको छ वा प्रतिभाकै कारण आउनु भएको छ ? त्यसमा निर्भर रहन्छ । आफैंमा अथाह प्रतिभा छ, अभिनय गर्ने साहस छ, त्यो हेपाहा प्रवृत्तिसँग प्रतिकार गर्ने क्षमता छ भने कसैले पनि तपाईलाई थिचोमिचो गर्दैन, दुव्र्यवहार गर्दैन । तर तपाई काँध चढेर आउनुहुन्छ भने जहाँ पनि हुन्छ ।

 

तपाई एकसमय समाजसेवा गर्ने भन्दै राउटे बच्चा ल्याएर पनि पाल्ने, पढाउने गर्नु भएको थियो । अहिले त्यो कुरा अलि सेलाएको हो की ?

सेलाएको भन्दा पनि मेरो काम अभिनय गर्ने, फिल्म निर्माण गर्ने र देशलाई कसरी हुन्छ टेवा पुर्‍याउने हो । देश र जनताको अथाह माया पाईरहेकी पनि छु भने मैले पनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो । सामाजिक काम गर्दा मिडियालाई थाहा दिनै पर्छ भन्ने त छैन । मिडिया बोलाउन थाले भने त्यो त प्रचार न भयो । मनदेखि गरेको त भएन । सुरुवातमा मिडियालाई बोलाएर म केवल नायिका मात्रै हैन, सामाजिक कार्यकर्ता पनि हुँ है भनेर सूचना दिन खोजेको मात्रै हो । म नमरुन्जेल सामाजिक काम गरि नै रहन्छु । राउटे बच्चाहरुले अहिले पनि पढि नै रहेका छन् ।

 

संविधान सभाको चुनावमा झन्डै उठ्नु पनि भएको थियो । एमाओवादीले टिकट नै दिएपनि पछि प्राविधिक समस्याले संभव भएन । अबका दिनमा पनि सक्रिय राजनीतिमा आउने इच्छा कस्तो छ ? पार्टीसँग त्यस्तै राम्रो सम्बन्ध छ ?

एकदमै राम्रो छ । हिजोका दिनमा मैले टिकट पनि पाएकै हो । एमाओवादीबाट पर्सा क्षेत्र नम्बर एकका लागि । मेरो आफ्नै कारणले चुनाव लड्न सकिनँ । राजनीतिमा आउने मेरो रुची मात्रै नभई भित्र आत्मादेखिकै इच्छा हो । इच्छाशक्ति भन्ने चीज रुचीभन्दा ठूलो हुने रहेछ । भोलीका दिनमा निश्चय पनि तपाईहरु मलाई राजनैतिक क्षेत्रमै देख्न सक्नुहुन्छ ।

 

रेखा थापा र कन्ट्रोभर्सी पर्याय नै लाग्थे । तर अचेल अलि कम देखिएको छ । तपाईले नचाहेकै हो वा लेखिन छोडेको हो ?

मलाई कहिल्यै पनि कन्ट्रोभर्सीमा आउँ भन्ने चाहना थिएन । मेरो विषयमा त्यस्ता समाचार आफैं बन्थे, आफै खण्डन हुन्थ्यो । के–के हुन्थ्यो, म आफैं दिक्क हुन्थें । १६ वर्षे उमेरमा गसिप आउनु, बनिनु स्वभाविक हो । तर आज फिल्म क्षेत्रमा आएकै १४ वर्ष भईसक्यो । योगदान के रह्यो त फिल्म उद्योगलाई ? अब त म जिम्मेवार पनि त भएँ । समाजलाई नजिकबाट बुझ्ने भएँ । यो देश हाँक्न सक्ने क्षमता छ ममा । प्रत्येक नेपालीको मनोभावना, मनोविज्ञान बुझ्ने क्षमता छ ममा । भनेपछि हिजोको त्यो १६ वर्षे केटी त रहिन नी त म । हिजो नायिकाको रुपमा जून गसिप आउँथ्यो, त्यो स्वीकार्य थियो । आजको दिनमा आउदा त्यती शोभा दिन्छ जस्तो मलाई लाग्दैन । जतिपनि पत्रकार मित्रहरु हुनुहुन्छ, सायम अहिले मलाई बुझ्नु भयो होला की दिदी अब टिन एजर्स रहिनन् भनेर । त्यसैले पनि गसिप वा कन्ट्रोभर्सीमा नआउँदा म खुशी छु ।

 

पछिल्ला दिन तपाई ‘हिरो’ भएका फिल्मले सफलता पाईरहेकै बेला ‘रामप्यारी’ पनि यसैवर्षको अन्तिमबाट आउँदैछ । चल्न सक्ने आधार के–के देख्नु भएको छ ?
मेरो ‘रामप्यारी’ नितान्त दर्शकको फिल्म हो । रामप्यारी आम मान्छेको मुखमा झुन्डिने नाम हो । धेरैको नाम राम हुन्छ । भगवानकै नामबाट अधिकांशले आफ्नो नाम राखेका हुन्छन् । अनि प्यारी जोकोही पनि हुन्छन् । एक त फिल्मको टाइटल मन छुने छ । दोस्रो, महिला टेम्पो ड्राइभरका बारेमा छ । उहाँहरुको जिवन कसरी चल्छ ? अर्को यो फिल्मले मजदुरको पसिनाको कथा बोल्छ । म आफैंले चाहेको भए पाइलट भएर पनि खेल्न सक्थें होला । सफा युनिफर्ममा टक्क ब्याग बोकेर एयरपोर्ट छिर्दा अर्कै सान हुन्थ्यो होला । तर रेखा थापा कीन टेम्पो चालक भएकी छ त ? यो पनि सोचनीय कुरा छ । रेखा थापा भनेकी एउटा मजदुर हो । जो कोही पनि काम गर्ने मान्छे मजदुर हो । टेम्पो चलाउने ती महिलाहरु कति हेपाहा प्रवृत्तिको शिकार हुनुभएको होला ? कस्ता कस्ता खालका मान्छे चढ्लान् त्यो टेम्पोमा ? उनीहरुले कसरी झेलिरहेका छन् ? र ती महिलाले कसरी विद्रोह गरेर अघि बढ्छन् ? यावत् कुराहरु छन् । यो नितान्त मजदुरप्रति समर्पित फिल्म हो । त्यसैले पनि ‘रामप्यारी’ मेरो जिवनकालकै उत्कृष्ट फिल्म बन्नेछ । त्यसरी नै मन पराउनु हुनेछ । मेरो टाइपको फिल्म बनेको छ । डबल रोल छ मेरो यसमा । आज सस्पेन्स खोल्दिएँ । जिवनकालमै गर्न लागेको काम यसमा छ । जस्तो केटाहरुलाई ड्यांगडुंग कुट्ने दबंग टाइपको पनि छ, एकदम साइलेन्ट क्यारेक्टर पनि छ ।

बाँकी योजना के छ ?

यो देशको सेवा गर्नेछु । अहिले कोही महिला आएर मसँग आयो भने ? म अहिले कार्यान्वयन तहमा, नीति बनाउने ठाउँमा त छैन र शक्ति पनि छैन । मैले मुखले वा पैसाले सेवा गरौंला तर नीतिगत हिसाबले पनि जानुपर्ने हुन्छ । अब नीति, नियम र कानुन बनाउने ठाउँसम्म पुग्छु । आजसम्म पर्दामा आएर समस्या हल गरिरहेकी छु भने भोली दर्शकमाझ प्रत्यक्ष रुपमा आएर गर्नुपर्ने दिन पनि आउँदैछ । त्यसबाहेक ‘रामप्यारी’ पछि म फेरि आफ्नै निर्देशनमा अर्को फिल्म गर्छु । फिल्म निर्माण भने म कहिल्यै छोड्दिनँ ।

अब बिहे नै नगर्ने हो की दुलाहा नै पाउनु भएन ?

दुलाहा नपाउने भन्ने त हैन । नजुरेको होला अहिलेसम्म । हुनत १/२ वर्ष समय छ । बितिसकेको पनि केही छैन । निश्चय पनि बिहे गर्छु । लेखेको छ भने शतप्रतिशत बिहे हुन्छ नै । मेरो दर्शकलाई पनि त रेखापछिको अर्को रेखा हेर्ने ? तर बिहे गरे पनि वा नगरेपनि म दर्शकबाट टाढा हुन्न । सधैंसँगै हुनेछु । उहाँहरुसँग झगडा गरेरै बसिरहेको हुन्छु । दर्शकलाई यो फिल्म हेर्नुस् भनिरहेको हुन्छु ।

 

Comments

comments