Sat. Dec 5th, 2020

Seto Parda

Digital Film Patrika

कफी खाएर बिहे गरेको हुँ : खगेन्द्र लामिछाने

1 min read

खगेन्द्र लामिछाने दर्शकमाझ नामले भन्दा टुल्के चरित्रले बढि चिनिन्छन् । हुनत उनले ‘टलकजंग भर्सेस टुल्के’ मा खेल्नुअघि नै ‘बधशाला’ बाट डेब्यू गरिसकेका हुन् । रंगमन्चबाट फिल्म लेखनहुँदै अभिनयमा होमिएका खगेन्द्रको लेखन र मुख्य अभिनय नै रहेको अर्को फिल्म ‘पशुपति प्रसाद’ माघ १५ देखि देशव्यापी प्रदर्शनको तयारीमा छ । खगेन्द्रसँग सेतोपर्दा टीमले गरेको कुराकानी :
नेपाली कलाक्षेत्रमा तपाई आफुलाई कसरी चिनाउनुहुन्छ ?
म एउटा कलाकार । कहिले नाटक लेख्छु अनि निर्देशन पनि गर्छु । यसमा लागेको १६ वर्षमा ४ नाटक निर्देशन गरें ।

पछिल्लो समय फिल्ममा अभिनय पनि गर्नुभयो । रंगमन्चसँगको फरक केही पाउनु भयो ?
यो धेरै कलाकारलाई सोधिने प्रश्न नै हो । केही फरक त होला तर मलाई एउटा कलाकारका हिसाबले हेर्दा त्यस्तो भन्नै पर्ने फरक केही लाग्दैन । फिल्ममा अलि बढि टेक्निकल काम हुन्छ, थिएटरमा त्यो हुँदैन । नत्र एक्टिंग त एक्टिंग नै हो । नाटक होस् वा फिल्म जे गरे पनि एउटा क्यारेक्टर बन्नै पर्छ, फिल गर्नै पर्छ । म आफु फिल्म गर्दा पनि नाटकमा जति रिहर्सल गर्थें, त्यती नै गर्छु । त्यसैले मेरा लागि दुईमा खास भिन्नता लाग्दैन ।

khagendraa l

फिल्ममा तपाईको आगमन अचानक नै भयो नी ?
मलाई सबै रंगकर्मी भनेर चिन्छन् । तर मैले १६ वर्षमा मुश्किलले पाँच नाटक गरेको हुँला, चार निर्देशन गरेको छु र आठ/दशवटा मात्र नाटक लेखेको छु । म फिल्म खेल्छु अथवा हिरो बन्छु भनेर स्याङ्जाबाट काठमाडौं आएकै हैन । नाटकै खेल्ने, गर्ने भनेर आएको हो । फिल्ममा आउनुमा रमाइलो प्रसंग पनि छ ।
संयोग कस्तो पर्‍यो भने नाटक ‘टलकजंग भर्सेस टुल्के’ लेख्दा म आफैंले त्यसको मुख्य चरित्रमा आफुलाई सोचेको थिएँ । पछि जागिरका कारण त्यसमा म खेल्न पाईनँ । टुल्के खेल्ने भोक बाँकी नै थियो, त्यो भोक संयोगवश फिल्मले पुरा गरिदियो । त्यसअघि मैले अडिसन दिएरै निर्देशक निश्चल बस्नेतले छनौट गर्नुभएको हो । त्यो भन्दा अघि मनोज पण्डितको ‘बधशाला’ मा चाँही अलि अचम्म तालले नै काम गरेको हुँ । संयोगवश आएको हुँ फिल्ममा । योजना केही थिएन । तर जब फिल्ममा पनि खेल्न थालें रमाइलो पनि लाग्यो । अनि नाटक र फिल्म दुवैलाई सँगै लैजान सकिन्छ भनेर लागेको छु ।
आफैंले लेखेको फिल्ममा आफैं मुख्य चरित्रमा हुँदा अन्य चरित्रप्रति पक्ष्ँपात गर्नुभयो भन्ने आरोप पनि लाग्छ तपाईलाई ।
आरोप लगाउनेले लगाउनु हुन्छ होला । तर अभिनेता र लेखक दुवै भएको हिसाबले ‘टलकजंग भर्सेस टुल्के’ लाई म चरित्र प्रधान फिल्म भन्छु । एउटा मुख्य पात्रको वरिपरि अरु सहायक पात्रहरु घुम्छन् । चरित्र प्रधान संसारका जुनसुकै फिल्म पनि बन्ने यसरी नै हो । तर हामीकहाँ हरेक पात्रका आ–आफ्ना स्टोरी प्लट हुने, बनाउने चलन छ । यस्तोमा मलाई भन्नु स्वभाविक पनि छ । चरित्रमा आधारित फिल्ममा हुने यही हो । विस्तारै यस्ता फिल्म बन्दै गएपछि अरुलाई पनि थाहा हुँदै जाने कुरा हो ।

‘पशुपति प्रसाद’ मा फेरि यहि आरोप खेप्नु पर्ला की नपर्ला ?
यो फिल्म पनि चरित्रमा आधारित नै हो ‘टलकजंग भर्सेस टुल्के’ जस्तै । खाली भिन्नता भनेको ‘टुल्के’ मा सहायक पात्रहरुको सही अवतरण हुन पाएन । ती चरित्रहरु आए, त्यसै हराएर गए । मैले पहिलो पटक लेखेकोले पनि ती चरित्रबारे मसँग जवाफ छैन । तर ‘पशुपति प्रसाद’ त्यस्तो छैन । हरेक चरित्र जो पशुपतिप्रसादसँग ठोकिन आउछन्, ती सबैको आ–आफ्नो कथा छन् । अवतरण छ । ‘टुल्के’ बाट सिकेको कुरा यसमा सदुपयोग गरेको छु । अहिले ‘टलकजंग भर्सेस टुल्के’ को स्क्रिप्ट लेख्न पाए बल्ल राम्रो लेख्थें जस्तो लाग्छ ।
तपाई रंगमन्च, फिल्म दुवैमा आबद्ध भएकोले यहाँको कलाकारको स्थिती कस्तो छ ?
आर्थिक स्थितीको कुरा मैले मेरो मात्रै भन्न सक्छु । अरुको त्यस्तो थाहा छैन । तर कलाकार भनेको कलाकार नै हो, चाहे त्यसले फिल्ममा अभिनय गरोस् चाहे रंगमन्चमा । अभिनय गर्ने सबै कलाकार हुन् । अब मेरो स्थितीको कुरा गर्दा पनि फिल्म खेलेरै खान त पुग्दैन । त्यसैले हामी आफैं बनाउने कोशिस गर्छौं । यसमा घाटा र नाफाको कुरा हुन्छ । ‘टलकजंग भर्सेस टुल्के’ ले आफ्नो लगानी चाहीं सुरक्षित गर्‍यो । जिवन नै चलाउन मेरा अरु चीज पनि छन् । तर फिल्मकै कमाईबाट चलेको छैन ।

khagendra Lamichaane

पछिल्ला वर्ष रंगमन्च कलाकारको फिल्ममा माग ह्वात्तै बढेको त छ । तर उनीहरुले स्टारडम सृजना गर्न सकेनन् भनिन्छ नी ?
स्टारडम देखिन फिल्म राम्रोसँग चल्नुपर्छ र एक्टरसँग मजाले पैसा हुनुपर्छ । दयाहाङ, सौगात, हामी हिंडिरहेका हुन्छौं, मान्छेले देखिरहेका हुन्छन् । मलाई त मान्छेले मार्क गर्दैनन् । थाहै छैन । तर दयाहाङ, सौगातको कुरा गर्दा अहिलेको स्टार हुन् । उनीहरु हिंडिरहेका हुन्छन् । खासमा मान्छेको सहज पहुँच हुनुहुन्न भन्ने मान्यता हो । नत्र भ्यालु हुँदैन । फिल्मको पर्दामा मात्रै देख्दा जून भ्यालु हुन्छ, बाहिर देख्दा हुँदैन । फेरि त्यसो भनेर लुकेर हिंड्ने कुरा पनि भएन । सबै चीज पैसाले नै निर्धारण गर्ने रहेछ । टेम्पूमा नभई कारमा हिंड्नु पर्‍यो । हरियो पर्दा राखिएको मःम सेन्टरमा नभई पाँच तारे होटलमा गएर खानुपर्‍यो । तपाई सट्ट कारबाट झरेर दुईटा गार्डले घेरेर ल्याउनुमा र गाडीबाट झरेर फुत्रुक फुत्रुक आउनुमा धेरै फरक छ नी । मान्छेले चासो नै दिंदैन नी त्यसरी हिंड्ने मान्छेलाई । त्यो सबै हुन पैसाको धेरै ठूलो हात रहन्छ । त्यसैले पहिले त यी सबै हुन फिल्म नै चल्नुपर्छ । नत्र निर्माताले कहाँबाट तिरोस् रु कहाँबाट राम्रो लगानी गरोस् । कहिलेकाहीं हामी बाटोमै बसेर पनि मेकअप गर्नुपर्छ । सामान्य मान्छेले पनि भोली यसको त अनुहारभरी कोठी थियो, मेकअपले टालेको पो रहेछ भनेर थाहा पायो भने त राम्रो भएन । यस्ता चीज भनेको खासमा लुकाएरै गर्नुपर्ने हो । सुटिंग नै गर्दा पनि मान्छेलाई पहिल्यै ट्रिकहरु थाहा हुन्छ, अनि उत्सुकता नै हराएर जान्छ ।
तपाईको मुख्य आम्दानी चाहीं के हो त ?
फिल्मबाट पैसा भएन भने पनि अहिलेसम्म मलाई खासै फरक परेको छैन । भविष्यमा परे बेग्लै कुरा हो । मेरो स्याङ्जामै फार्म हाउस छ । अलि अलि त्यहींबाट पैसा आउँछ । सुन्तला बगैंचा पनि छ । त्यस्तै दुःख पर्दा बुबाले पनि दिनुहुन्छ । नत्र कलाकारितामा सेलेक्ट गरेर काम गर्ने हो भने गाह्रो छ ।

अबका दिनमा तपाई रंगमन्च, लेखन वा अभिनय के मा बढि आफुलाई संलग्न गर्नुहुन्छ ?
यदि मलाई नाटक लेख्न मन लाग्यो भने नाटकै लेख्छु । चाहे यता जहाज नै डुबोस् । फिल्मको लेख्न मनलाग्यो भने फिल्मकै लेख्छु । मनले मलाई कता डोर्‍याउँछ, त्यतै बग्दिने मान्छे हो । तर नाटक र अभिनयको काम म जिवनमा छोड्दिन । किनभने यसमा मलाई रमाइलो लाग्छ । मलाई यहाँ पुग्छु, यस्तो बन्छु भन्ने सपना नै छैन । सपना भनेकै जिवनभर नाटक गर्छु, फिल्म खेल्छु, लेख्छु र कृषि गर्छु ।

बीचमा तपाई रंगमन्चबाट हराउनु भयो है ?
बीबीसी गएँ । तर बीबीसी गएपछि पनि मैले तीन वटा नाटक पानी फोटो, अटलबहादुरको आतंक र हजुरबाको कथा गरें । सात वर्षको जागिरमा तीन वटा नाटक गरें ।

बीबीसी जिवन निर्वाहकै लागी जानु भयो ?
हो, त्यो बेला मेरो घर परिवारको आर्थिक अवस्था अलि बिग्रेको थियो । खासमा साथीभाईकै जोर जबरजस्तीले गएको थिएँ । मेरो अंग्रेजी राम्रो नभएकोले हुँदैन भन्ने नै लागेको थियो । भोला (सापकोटा) ले बीबीसीको भ्याकेन्सी अनाउन्समेन्टको कागज कटिंग ल्याएर मलाई फिट हुन्छ भने । जिवेश ()ले चाहीं एप्लाई नै गर्दिएछ । उसलाई मेरो मेलको पासवर्ड समेत थाहा हुन्थ्यो । पछि २० जनाको सर्टलिस्टमा नाम निस्केछ । त्यसपछि मलाई पनि अन्तर्वार्ता दिन जान मन लाग्यो । पछि आठ जना हुँदै अन्तिम चारको नाममा म पनि परें । खुशी लाग्यो । त्यहाँ पनि नाटक नै गर्ने थियो । माध्यम मात्रै फरक भए पनि आफ्नै रुचीको क्षेत्र थियो । तर जागिर खान मलाई सजिलो चाहीं भएन । छ/सात महिना भएपछि छोड्न खोजेको थिएँ तर मेरो हाकिमले छोड्न दिईनन् ।

तपाई विवाहित की अविवाहित ?
विवाहित । एक वर्ष भयो ।

तर तपाईकै नजिकका साथीलाई पनि पत्तो छैन भन्छन् नी ?
विवाह भन्ने कुरा नीजि मामिला भयो । राजेश हमाल दाई, सौगात वा दयाहाङ जस्ता ठूला ठूला स्टारहरुको बिहे भयो भने चाख हुने हो । भर्खर भर्खर फिल्ममा देखिदै गरेको मलाई कीन थाहा दिनुभएन भन्नु त हाँसो उठ्दो कुरा हो ।
मैले बिहे पनि जन्ती लगेर तामझामले गरिनँ । सामान्य हिसाबले कफी खाएर बिहे गरेको हुँ । मन्दिर गयौं । भगवानको दर्शन गरेपछि फर्केर कफी खाइयो अनि घर आइयो । बिहेमा न मेरो बुबाआमा आउनु भयो, न उनको बुबाआमा आउनु भयो । म साधारण भन्दा साधारण जिवन ज्यूँन चाहने मान्छे हुँ । मेरा गाडी चढ्ने, बंगला बनाउने जस्ता ठूला ठूला सपना छैनन् । त्यसैले पनि मेरो अनुहार सधैं हँसिलो छ भन्छन् साथीहरु ।

‘टुल्के’ लेख्दै गर्दा आफैं खेल्छु भन्ने भावना आएको थियो वा पछि कास्टिंगमा लिइएको हो ?
नाटक गर्ने बेलामै एकदिन अनुप (बराल) दाईले मलाई कथा पढ्न दिनुभयो, लु सुनको ‘टू स्टोरी अफ आक्यु’ । कथा पढिसकेपछि त्यसको मुल पात्र मलाई एकदम मन परेर यसको नाटक लेखें । नाटकमा पनि म आफैं थिएँ । रिहर्सल पनि इन्टरभलसम्मको भएको बेला ठ्याक्कै बीबीसीमा पनि नाम निस्कियो । त्यसबेला मलाई नाटक खेल्ने वा जागिर खाने भन्ने दुई विकल्प रहे । मैले नाटक त पछि खेलेपनि हुन्छ । अहिले जागिर आवश्यक छ भनेर त्यता लागें । पछि आशान्त (शर्मा) जीले गर्नुभयो । तर मेरो त्यो चरित्रप्रतिको मोह उस्तै थियो । टुल्के बन्ने रहरले नै मैले फिल्मको स्क्रिप्ट लेखेको पक्कै हो । पछि निश्चल (बस्नेत) लाई मेरो सपना सुनाएपछि उसले मेरो चार/पाँच पटकको अडिसन लिएर टुल्केमा छनौट गरे । तर धेरैलाई फिल्ममा खगेन्द्रले आफैं खेल्न पाउने भए हुन्छ नत्र हुँदैन भन्यो भन्ने छ । तर मैले भनेको के हो भने, टुल्के भएर खेल्ने मेरो सपना हो । त्यो चरित्रमा मेरो सात/आठ वर्षदेखिको लगाव थियो ।

अबको योजना के छ ?
नाटक गर्छु अब एउटा । गुरुकुल बन्द भएदेखि चार वर्ष भयो, मैले नयाँ नाटक गरेको छैन ।

Comments

comments