सर्वनाममा ‘मान्छे पोल्ने भट्टी’
1 min read
भट्टी शब्दको विम्वात्मक प्रयोग गरिएको नाटक ‘मान्छे पोल्ने भट्टी’ यतिबेला कालिकास्थानस्थित सर्वनाम नाटकघरमा मन्चन भईरहेको छ ।
समाजलाई भट्टीको रुपमा विम्वीत गरिएको नाटकमा मानिस अनेकन प्रकारले पोलिइन्छन्, पिल्सिइन्छन् भन्ने मुल आशय दिन खोजिएको छ ।
पुरुषविना महिलाको जिवन अधुरो मान्ने हाम्रो समाज र छोराविना बैतरणी तरिंदैन भन्ने पुरातनवादी सोचलाई नाटकले चोटिलो प्रहार गरेको छ । गाउँमा सबैलाई न्याय दिने तर आफैं छोरी उमेरकीलाई पत्नि बनाएर ल्याउने बुबा, कान्छी आमासँग प्रेम गर्न तम्सिने छोराहरु भएको समाज र पुरुषको गल्तीमा नजरअन्दाज गरी महिलाकै मात्रै गलत देख्ने त्यही समाज ।
अनि आफ्ना दमित इच्छालाई भन्न नसक्ने तर सौता हाल्ने बुढो लोग्नेलाई छोड्न नसक्ने छँदाखाँदाकी जेठी पत्नि र पुरुषविना आफ्नो जिवनै अधुरो मान्ने महिला पात्र वरिपरि नाटकको कथा बुनिएको छ ।
नाटकमा अधिकांश नयाँ कलाकार छन् । प्रणव आकाशको लेखन तथा निर्देशन रहेको नाटकमा स्वयं प्रणवसहित भिष्म जोशी, रुपेन्द्र शिवाकोटी, रामकृष्ण तिमिल्सिना, बबी रोजा ढकाल, बिनु राई, नोरेचेन स्त्रि, भिमा मैनाली, अर्पण बस्नेत, प्रवेश पौडेल, शुशिल गैरे लगायतको अभिनय रहेको छ । फागुन १ सम्म चल्ने नाटक माघ २२ देखि जारी छ ।
नयाँ भएपनि खारिएको अभिनय दिएका कलाकारले नाटकलाई रुचीकर बनाएका छन् । नाटक बिहिबार बाहेक हरेक दिन बेलुका साढे चार बजे सर्वनाम थिएटरमा मञ्चन भैरहेको छ ।