दयाको अस्वस्थताले ‘…र माइलो’ स्थगीत
1 min read
मुख्य भुमिकामा रहेका अभिनेता दयाहाङ राई अचानक अस्वस्थ रहेपछि नाटक ‘…र माइलो’ ले आफ्नो नियमित मन्चन रोकेको छ ।
माघ १ देखि २९ सम्म मण्डला थिएटरमा चल्ने भनिएको नाटकको शनिबार बिहान १० बजेको पहिलो शो गरेलगत्तै दयाहाङले असजिलो महसुस गरेपछि सोही दिनको दोस्रो शो रोकिएको थियो । त्यसपछिका दुई शोजमा निर्देशक सोमनाथ खनाल आफैंले दयाहाङको भुमिका निर्वाह गरेका थिए ।
दुई वर्षपछि नाट्य अभिनयमा फर्केका दयाहाङले ‘…र माइलो’ मा लेखक जय मुकारुङको भुमिकामा देखिएका छन् । यसअघि पनि उनले जाडो समय आफुले फिल्म सुटिंगमा जान नसक्ने भएकोले पुष र माघ महिना नाटक गर्न चाहने बताएका थिए । तर अहिलेका व्यस्त अभिनेतामा पर्ने दयाहाङले यसपटक भने चिसोमै पनि ‘…र माइलो’ सँगै ‘लालटिन’ को सुटिंग गरेका थिए ।
‘नाटकका मुख्य कलाकार दाजु दयाहाङ राई अस्वस्थ हुनुभएकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अर्को सूचना नआउन्जेलसम्मका लागि नाटक मन्चन स्थगित गरिएको जानकारी गराउँदछौं’ नाटकका निर्देशक सोमनाथले आफ्नो फेसबुकमा लेखेका छन् । दयाहाङलाई ज्वरो आएपछि रंगमन्चमा उत्रन नसकेको बुझिएको छ । मण्डला थिएटरले भने शनिबार नै ‘नाटकका मुख्य कलाकारको स्वास्थ्यमा गम्भिर समस्या देखिएको’ जनाएको छ ।
र यो पनी पढ्नुहोस
‘…र माईलो’ मेरो शैली जस्तै : दयाहाङ राई (भिडीयो)