Wed. Aug 5th, 2020

Seto Parda

Digital Film Patrika

फिल्म समीक्षा: सामान्य पात्रको असामान्य लक्ष्य

1 min read
अधिकांश पाशुपत क्षेत्रमै खिचिएको फिल्मको सिनेमाटोग्राफीको निर्देशकीय कोण तारिफयोग्य छ । पृष्ठभुमि संगीत र द्वन्द्वले फिल्मलाई यथार्थ नजिक पुर्‍याउन मद्दत गरेको छ । ‘पशुपति प्रसाद’ सानो क्यानभासमा सामान्य पात्रको असामान्य लक्ष्य कोरिएको सामान्य फिल्म हो

फिल्म : पशुपति प्रसाद
निर्देशक : दिपेन्द्र के खनाल
कलाकारहरु : खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, मिश्री थापा, विपिन कार्की, रविन्द्रसिंह बानियाँ

मुख्य पात्रले लिने लक्ष्य, त्यसको प्राप्तिका लागि गर्ने संघर्ष र निस्कने परिणाम नै फिल्मको मुलभुत संरचना हुने गर्छ । तर फिल्म बनाउनु मात्रै असल निर्देशकको ध्येय हुँदैन । आफ्नो कथा, वाचन शैली र पात्र मनस्थितीसँग दर्शकलाई कुन हदसम्म समाहित गर्न सक्छ, त्यसैमा एउटा निर्देशकको असल जाँच हुने गर्छ । फिल्मको घटनाक्रमसँगै दर्शक मन दौडाउन सक्नु अह्म प्रश्न हो ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’ बाट यतिबेला निर्देशक दिपेन्द्र के खनालले परिक्षा दिएका छन् । उनी परिक्षामा पास त भए तर अब्बल नतिजा दिनबाट चुकेका छन् । यदि तपाईलाई परिक्षार्थी जेहेन्दार लाग्छ भने उसबाट डिस्टिङसन घटिको नतिजा अपेक्षा गर्नुहुन्छ । साथसाथै, सामान्य भन्दा कमजोर विद्यार्थी पास हुनुमै पनि सन्तोष लाग्न सक्छ ।
‘चपली हाइट’ र ‘झोले’ बाट निर्देशकीय नतिजा सुधार्दै लगेका दिपेन्द्र के खनाल हुन् वा ‘टलकजंग भर्सेज टुल्के’ बाट अभिनयमा सनसनी छाप छोडेका अभिनेता खगेन्द्र लामिछाने, दुईको समागमबाट जन्मिएको ‘पशुपति प्रसाद’ बाट गरिने अपेक्षा तुलनात्मक रुपले बढि हुनु स्वभाविक थियो । यस अर्थमा पनि फिल्मको नतिजा सन्तोषप्रद लाग्दैन ।
वैशाखमा गएको भुकम्पले सिन्धुपाल्चोकमा जनधनको क्षति बढि भयो । त्यही भुकम्पमा परी पशुपतिप्रसाद खकुरेलको परिवारमा पनि दु:ख पस्यो । पशुपतिप्रसादले बाबुआमा त गुमायो नै, एउटा ठूलो भार पनि बोक्नुपर्छ । साहुको ऋण नतिरी मरेका कारण बाबुआमालाई स्वर्गको ढोका नखोलिएको अथ्र्याइएपछि ५० हजार रुपैयाँ ऋण नतिरी अस्तु नसेलाउने लक्ष्य बोकेर छोरो पशुपति प्रसाद शहर पस्छ ।
पशुपति मन्दिर । जहाँ पूजाआजा गरेरै पशुपतिको प्रसादका रुपमा जन्मिएको पशुपति आखिर पशुपतिकै शरणमा जान्छ । पाशुपत क्षेत्रमै मित बुबालाई भेटेपछि पशुपतिको लक्ष्य प्राप्तिका लागि हुने संघर्ष अघि बढ्छ । फिल्मको कमजोरी यहीं छ । पात्रमा लक्ष्य प्राप्तिको लागि समयको कुनै पाबन्दी छैन । यसले गर्दा दर्शकमा समय घर्कंदा उत्पन्न हुनुपर्ने हुटहुटी सिर्जना हुँदैन भने पशुपतिप्रसाद पनि पैसा कमाउने लक्ष्यमा हतारिएको लाग्दैन । एक समय उसका सपना छरिन्छन् ।
लामो समयदेखि ऊ लाशबाट झिकेर फालिने गरगहना ‘झर्ला र खाउँला’ शैलीको आशामा रहन्छ । यसले मुल पात्रलाई कर्मशील भन्दा अल्छी बनाइदिएको छ । हो, उसलाई मितबाले भनेको हुन्छ, ‘यो संसारमा जे बिक्री हुन्छ, त्यो बेच्ने नै हो । बस्, पैसा आउनुपर्‍यो ।’ त्यसपछि पैसा कमाउने रहरमा लाश जलाएर बँचेका मुढा ओसार्नेदेखि लाशका कपडा धोई टल्काई बेच्नेसम्मका व्यापारमा हात हाल्ने र ठेलामा समोसा पसल खोल्न चाहना पनि पशुपतिप्रसादले नपालेको हैन । तर अन्तत: कथा लाशबाट फालिएको एउटा औंठीले मोडिदिन्छ ।
फिल्ममा पात्रहरु यथार्थको धरातलबाट टिपिएका झैं लाग्छन् । आरोह अवरोह कम भएपनि खगेन्द्रले पशुपति प्रसादलाई जिवन दिने भरमग्दुर प्रयास गरेका छन् । मितबुबा बनेका प्रकाश घिमिरे, भष्मे उर्फ विपिन कार्की, आमा मिश्री थापा, हनुमान रविन्द्रसिंह बानियाँ सबै पात्रले चरित्रलाई न्याय दिएका छन् । पशुपतिको अवरोधका रुपमा देखिने भष्मेमा विपिन स्मरणीय छाप छोड्न सफल छन् ।
फिल्मको अर्को बलियो पक्ष संवाद हो । कहिं कतै संवाद दार्शनिक प्रतीत पनि हुन्छ । निर्देशकले फिल्मका कतिपय ठाउँमा सशक्त दृश्यात्मक अभिव्यक्ति दिएका छन् । उनी आँखामा दृश्य बुनेर क्यामेरामा कैद गरेझैं लाग्छन् । डिटेलिंग दिने काममा उनी खरो उत्रिएका छन् । पशुपतिप्रसादले वृद्धाश्रमकी एक वृद्धामा आमाको आभास पाएको दृश्य निर्देशकले बीना संवाद दिएका छन् । तर फिल्मको पटकथा उम्दा होइन । फिल्मको क्लाइमेक्समा औंला उठ्याउने ठाउँ छोडिएको छ ।

हेर्नुहोस् फिल्म हेरेपछी सेलीब्रीटी प्रतिक्रिया

पटकथाको कमजोरी भनेको फिल्मका मुख्य पात्रलाई परिचित गराइयो तर यथेष्ट ‘एक्सन’ दिइएन । वृद्धाश्रममा पुगेकी एक आमा र उनको छोराबीचको संवादले खोजिएजति भावनात्मक गहिराई चुम्न सकेको छैन । यसमा परिस्थितीको जिम्मेदार आमाको हठ र छोराको विवशतालाई सन्तुलनमा राख्न खोजिएको छ । तर सबै सन्तुलन प्रीय हुँदैनन् भन्ने उदाहरण यहाँ देख्न सकिन्छ ।
बेला बेला मुख्य पात्र पशुपति प्रसादको लक्ष्य धमिलो बनिदिंदा फिल्मको रफ्तार मात्रै नभई ट्रयाक पनि छोड्यो की झैं लाग्छ । फिल्मले सम्बन्धका पपुलिस्ट कन्टेन्ट समातेको कारणले दर्शकलाई भावनात्मक बनाउन पनि सक्छ । पशुपतिप्रसाद र बुनुबीचको छोटो मीठो प्रेम कहानीले दर्शकलाई आनन्दीत पार्ने ल्याकत राख्छ भने पशुपतिप्रसादको भष्मसँगको संघर्ष, हनुमानको साथ, मितबाबुसँगको सम्बन्ध, आमासँगको भावनात्मक नाता जस्ता सबप्लट फिल्म कुदाउने इन्धन बनेका छन् ।
अधिकांश पाशुपत क्षेत्रमै खिचिएको फिल्मको सिनेमाटोग्राफीको निर्देशकीय कोण तारिफयोग्य छ । पृष्ठभुमि संगीत र द्वन्द्वले फिल्मलाई यथार्थ नजिक पुर्‍याउन मद्दत गरेको छ । ‘पशुपति प्रसाद’ सानो क्यानभासमा सामान्य पात्रको असामान्य लक्ष्य कोरिएको सामान्य फिल्म हो । अहिलेको उत्तरआधुनिक उन्मुख समाजमा ऋण तिरेर पितृलाई वैतरणी तार्ने लक्ष्य लिइनु असामान्य नै हो ।
हिन्दु संस्कारमा भगवानको प्रसादलाई अस्वीकार गरिंदा पाप लाग्ने मान्यता छ । फिल्म ‘पशुपति प्रसाद’ पनि नेपाली दर्शकका लागि खुराक भन्दा प्रसादका रुपमा आएको छ । तर यस प्रसादको फाइदा, अस्वीकार गर्दा पाप लाग्दैन । स्वीकार गरेर हेर्न गए वाक्क पनि लाग्ने छैन

Comments

comments