Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

फिल्म समीक्षा: जीवनले धानेको फिल्म

1 min read
यतिबेला विष्णुप्रसादको जीवनमा आएको आमुल परितर्वतलाई फिल्मले तार्किक बनाउनबाट चुकेको छ । ‘नानीदेखि लागेको बानी छुट्न गाह्रो हुन्छ’ भनिएपनि गाउँले चरित्रको विष्णुप्रसाद एकाएक हाईफाई शैलीमा झुल्किनु अस्वभाविक लाग्छ । ‘काफल पाक्यो’ जीवनका अभिनयका दृष्टिकोणले हालसम्मको सबल फिल्म मान्न सकिन्छ । मेरुदण्डकै रुपमा रहेका जीवनले फिल्मलाई हेर्न लायक बनाएका छन् । फिल्मको विषयबस्तुको प्रचार प्रसारमा केही ध्यान दिन सकेको भए ‘काफल पाक्यो’ जायन्ट किलर बन्न सक्थ्यो ।

फिल्म : काफल पाक्यो
निर्देशक : सावित्री खत्री
कलाकारहरु : जीवन लुईटेल, वर्षा राउत, मुकेश आचार्य

यसै साता रिलिज भएर पनि ‘काफल पाक्यो’ पूर्णत: ‘फन्को’ को ह्वीमको सेपमा पर्‍यो । तर दर्शकका लागि फिल्म अनपेक्षित रुपमा मनोरन्जनात्मक लाग्नेछ । फिल्मको मेरुदण्ड नै जीवन अभिनित विष्णुप्रसाद आचार्य पात्र हो । फिल्म घटना प्रधान भएतापनि चरित्रका कारण रमाइलो बनेको छ ।
पछिल्लो समय नेपाली फिल्मका कथा ग्रामीण जीवनशैली र चरित्र केन्द्रित हुन थालेका छन् । शहरिया दर्शकले पनि यस्ता चरित्रलाई रुचाएको देखिन्छ ।
गुल्मीका विष्णुप्रसाद राजधानीमा सुब्बाका रुपमा जागिरे भएतापनि गाउँले लवज र चालचलन हटेको छैन । शुद्ध शाकाहारी ब्राम्हण चरित्रको ऊ लप्पन छप्पन जान्दैन । सोझो र इमान्दार छ । गाउँबाट बुबाको फोन आउँछ, ‘छोरा तेरो लागी केटी भेटियो । बिहेका लागि चाहिने सरसामान लिएर तुरुन्त घर आइजो ।’ ४२ जना केटी हेरेर बुबाले गोमासँग बिहे जुराईदिन लागेको खबर पाएपछि विष्णुप्रसाद भोलीपल्टै हवाईमार्ग हुँदै घर जाने हुन्छ ।
तर फिल्म जीवनको विवाह हुनु अगावै नुमी (वर्षा) सँगको प्रेमकथामा मोडिन्छ । फ्ल्यासब्याकमा नभई तत्कालीन समयमै । जब एयरपोर्टका लागि हिंडेको विष्णुप्रसाद नुमीका कारण उडान छुटाउँछ । घरायशी तनावका कारण विरक्तिएर हिंडेकी नुमीको चरित्र विष्णुप्रसादको भन्दा विपरित छ । बुलेट बाइकमा कुद्नु, रक्सी–चुरोटमा रमाउनु वा परिआए गुन्डालाई आफैं तह लगाउन सक्ने हैसियतकी नुमी सोझो विष्णुप्रसादलाई बिहेका लागि समयमै घर पुर्‍याईदिन तयार हुन्छे ।
फिल्मको आधा भाग मुलत: सडकमै बुनिएको छ । स–साना घटनाक्रम र त्यसमा विष्णुप्रसादले दिने अनौठो र रमाइला प्रतिक्रियाले दर्शकलाई फिल्मसँग अन्तरनिहित गर्ने सामथ्र्य राख्छ ।

kafal pakkyo

मुख्य जोडीको केमेस्ट्रीमा मार खाएको भएपनि पटकथा र संवादमा फिल्म सबल देखिन्छ । फिल्मको समापनमा भने कथा केही खुकुलिन पुगेको छ । तर पहिलो फिल्मबाटै सावित्रीले शसक्त निर्देशकीय पारी खेलेकी छन् । फिल्ममा उनको मिहिन काम प्रष्टिन्छ ।
दीर्घ गुरुङ र दिपक बज्राचार्यले आखाँ नबिझाउने गरी सिनेमाटोग्राफीक ल्यांग्वेज व्यक्त गरेका छन् । फिल्मको दोस्रो भागमा पात्र मनस्थितीमा परिवर्तन आउँछ । यतिबेला विष्णुप्रसादको जीवनमा आएको आमुल परितर्वतलाई फिल्मले तार्किक बनाउनबाट चुकेको छ । ‘नानीदेखि लागेको बानी छुट्न गाह्रो हुन्छ’ भनिएपनि गाउँले चरित्रको विष्णुप्रसाद एकाएक हाईफाई शैलीमा झुल्किनु अस्वभाविक लाग्छ ।
‘काफल पाक्यो’ जीवनका अभिनयका दृष्टिकोणले हालसम्मको सबल फिल्म मान्न सकिन्छ । मेरुदण्डकै रुपमा रहेका जीवनले फिल्मलाई हेर्न लायक बनाएका छन् । फिल्मको विषयबस्तुको प्रचार प्रसारमा केही ध्यान दिन सकेको भए ‘काफल पाक्यो’ जायन्ट किलर बन्न सक्थ्यो ।

Comments

comments