Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

बिना घुम्तीको ‘फन्को’

1 min read
सौगात मल्लका शुभचिन्तकले ‘फन्को’ हेर्नै पर्छ । झन्डै ‘लुट’ पछि उनको चरित्रले पूर्णता पाएको छ भने उनको मिहिनेत पनि सही ठाउँमा परेको देखिन्छ । अन्य दर्शकको हकमा भने ‘फन्को’ ले अपेक्षाकृत सन्तुष्टि नदिन सक्छ ।

फिल्म : फन्को
निर्देशक : सुवर्ण थापा
कलाकारहरु : सौगात मल्ल, दयाहाङ राई, केकी अधिकारी, प्रियंका कार्की, अनुप बराल, ए गुरुङ, केशव भट्टराई

पैसा भनेपछि महादेवका पनि त्रिनेत्र खुल्छन् रे । अभावले स्वभाव नै बिगार्छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘फन्को’ का मुल पात्रहरु पनि पैसाकै कारण फनफनी घुम्छन् । तर घुमाईको गोलचक्कर त्यती परिस्कृत भने लाग्दैन ।
भक्ति थापा, गर्भवती मिठू उर्फ मिथिलाका मनले खाएको पति । उद्योगी धमलाको विश्वासिलो सवारी चालक । काठमाडौंदेखि नेता टेकनाथ शर्माको चुनावका लागि आर्थिक सहयोगको अपेक्षा सहित फोन आएपछि पोखराका उद्योगी धमलाले एक करोड रुपैयाँ दिन राजी हुन्छ । तर पैसा स्थलगत रुपमा पठाउनु पर्ने भएपछि भक्तिलाई जिम्मेवारी आईपर्छ । उद्योगीका व्यवसायका सहयोगी शंकर पाठकले बैंकबाट पैसा झिकेर भक्तिलाई नेताकै हातमा पैसा थमाउन निर्देश गर्छ । निम्न मध्यमवर्गीय स्तरका भक्ति र मिठूमा ठूलो रकमले ठूलै बेचैनी जन्माउँछ ।

fanko k
बुद्धवीर राई : विद्यार्थी राजनीतिहुँदै नेता टेकनाथको नजिक पुग्नुअघि जनयुद्धमा लागेर उपलब्धी केही नपाएको पात्र । पोखरादेखि मोटो रकम नेताकहाँ आउन लागेको थाहा पाएपछि बुद्धवीर पोखरा नै आएर भक्तिलाई पछ्याउन थाल्छ । तीन वर्षदेखि ऋणमा डुबेर निरमाया दोहोरी साँझ चलाईरहेकी उसकी प्रेमिका लिली पनि एक करोड लुटेर एकैपटक धनी हुने बुद्धको योजनामा सामेल हुन्छे ।
भक्तिको पैसावाहक गाडीले पोखरा छोडेर पृथ्वी राजमार्ग समातेपछि फिल्म अघि बढ्छ । फिल्मको अधिकांश प्लट राजमार्गमै बुनिएको छ । बाटोमा योगी समुहदेखि बुद्धवीरसम्म पैसा हत्याउने धुनमा भक्तिको बाटो छेक्छन् । इमान्दारीताको नून खाएको भक्तिले ज्यानकै जोखिम पारेको पैसालाई नेताको हातसम्म पुर्‍याउला/नपुर्‍याउला ? फिल्मको क्लाइमेक्सले यसको जवाफ दिनेछ ।
मल्टिस्टारर ‘फन्को’ मल्टिप्लट फिल्म भने हैन । यो केवल एउटा सामान्य ‘रोड जर्नी’ हो । यात्राका दौरान नयाँ पात्र थपिंदै जान्छन् भने पुरानाले पछ्याईरहन्छन् । फिल्म शीर्षक चरितार्थ गर्नबाट चुकेको छ । पोखराको गल्लीमा छँदा पात्र जति घुम्छन्, राजमार्ग समातेपछि घुम्तीहरु घट्दै जान्छन् । फिल्मले पात्रको चरित्र स्थापनामा जति समय र मिहिनेत खर्चेको छ, त्यस स्तरमा चरित्र चित्रण र प्लटको कमी लाग्छ ।
फिल्मबाट चल्तीका कलाकारलाई झिकिदिने हो भने बाँकी हेर्नै बाध्य पार्ने तत्व त्यस्तो केही रहदैन । फिल्मको मियोका रुपमा रहेका सौगातले तारिफयोग्य काम गरेका छन् । सामान्य चेतनास्तरको चालकको भुमिकामा सौगात पुरा फिल्ममा फिट देखिन्छन् । पत्निको भुमिकामा रहेकी केकीको अभिनयमा भने आरोह अवरोह देखिन्छ । केही दृश्यमा सबल अभिनय पस्केकी केकी कतिपय ठाउँमा चुकेकी छन् । भुमिका रहित बनाइएकी प्रियंकालाई लगभग ‘शो पीस’ बनाइएको छ ।
‘बाउले दुधमा पानी मिसाउँथे, म पेट्रोलमा मट्टिेल मिसाउँछु’ भन्ने पाठकको चरित्रमा रहेका अनुपको चरित्र पनि वजनदार लाग्दैन । न त पैसाको पछि दौडिएको बुद्धवीरमै कुनै तनावभाव देखिन्छ । दयाहाङ न नायक न खलनायकको शैलीमा ठिमाहा चरित्रका कारण तुलनात्मक रुपमा कमजोर नै लाग्छन् ।
फिल्मको ओपनिंगमा भक्ति र मिठूको अभावबीच पनि झाँगिएको मायाप्रीति सीमित दृश्यमै सबल लाग्छ । त्यसपछि भने जति फिल्म कुद्दै जान्छ, कथाको गाँठो खुस्कँदै जान्छ । फितलो क्लाइमेक्स ‘फन्को’ का लागि आत्मघाती बनेको छ । फिल्मको पृष्ठभुमि संगीत सबल छ भने छायांकनलाई खोट देखाउने ठाउँ छैन । अभिनयमा सौगातले कुनै कसर बाँकी राखेको लाग्दैन ।
प्रस्तुतीकरणमा चुकेको ‘फन्को’ को प्याकेजिंग खुुकुलो भएपनि संवाद पक्ष रसिलो र चोटिलो छ । पात्रका गाउँले लवजले पनि मन जित्छ । दर्शकलाई फिल्मसँग इन्गेज्ड गराउने मुल कडी नै संवाद भन्दा फरक पर्दैन । ‘सुनगाभा’ निर्देशन गरी फिल्मबाट भन्दा समलिंगी प्रेमको कथा रोजेर चर्चा बटुलेका सुवर्ण ‘फन्को’ मा भने कथा छनौट र निर्देशन दुवैमा सामान्य देखिन्छन् । मध्यान्तरपछि फिल्मको गति सुस्त र पात्रहरु कमजोर बन्दै जानुको अपजस निर्देशककै थाप्लोमा जान्छ ।

fanko keki

अन्त्यमा, सौगात मल्लका शुभचिन्तकले ‘फन्को’ हेर्नै पर्छ । झन्डै ‘लुट’ पछि उनको चरित्रले पूर्णता पाएको छ भने उनको मिहिनेत पनि सही ठाउँमा परेको देखिन्छ । अन्य दर्शकको हकमा भने ‘फन्को’ ले अपेक्षाकृत सन्तुष्टि नदिन सक्छ ।

हेर्नुहोस फिल्मकर्मीको प्रतिक्रीया

Comments

comments