Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

भर्चुअल ‘ख्याल इ– लिट फेस्ट २०२०’ मा थारु साहित्यको चर्चा

1 min read
मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस (१३१ औं) को अवसर पारेर तीन दिने ‘ख्याल इ– लिट फेस्ट २०२०’ नामक भर्चुअल थारु साहित्य सम्मेलन सुरु भएको छ ।


सेतोपर्दा
मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस (१३१ औं) को अवसर पारेर तीन दिने ‘ख्याल इ– लिट फेस्ट २०२०’ नामक भर्चुअल थारु साहित्य सम्मेलन सुरु भएको छ । प्रत्येक वर्ष चैतमा हुँदै आएको थारु राष्ट्रिय साहित्य सम्मेलन यस वर्ष लकडाउनका कारण स्थगित भएपछि उक्त सम्मेलनको आयोजना गरिएको हो । आयोजक ख्याल बगाल हो ।
तीन दिने फेस्टमा पहिलो, दोस्रो र तेस्रो दिनलाई टाइटल अफ द डे भनेर क्रमशः जीवनशैली, भुलभुलैया र ओझेलमा शीर्षक अन्तर्गत विभिन्न शीर्षकमा बहस गराउने भएको छ । आज फेस्टको अन्तिम दिन ‘ओझेलमा थारु लोकलय र परम्परागत व्यवस्थाहरू’ र ‘ओझेलमा थारु सौदर्यशास्त्र’ जस्ता विषयमा छलफल हुने भएका छन् ।
जीवनशैली
‘सबाल्र्टनका सामाजिक र साँस्कृतिक पाटो’ नामक पहिलो सेसनमा सबाल्टर्न वर्ग तथा थारुको जीवनशैलीका बारेमा बहस भयो । बहसमा युग पाठक (लेखक÷स्तम्भकार), तारालाल श्रेष्ठ (लेक्चरर÷लेखक) र शुशील चौधरी (लेखक÷अनुसन्धाता) सहभागी थिए भने कार्यक्रमको सहजीकरण प्रणव आकाशले गरेका थिए ।
थारु समुदाय लामो समयसम्म कसैको दास वा कमैया भएर जीवन गुजारेको समुदाय हो । अहिले कमैयामुक्त घोषणा भएको कैयौ वर्ष वितिसक्दा पनि उनीहरूको जीवनशैलीमा खासै परिवर्तन नआएको अुनसन्धाता शुशील चौधरीले बताए । सवाल्टर्नको घेरमा रहेको थारु समुदायको जीवनशैली माथि ल्याउन शोषकको मानसिकतामा परिवर्तन ल्याउन सवाल्र्टन वर्गको वैचारिक विद्रोह हुन आवश्यक छ, उनले भने ।
बहसमा लेखक श्रेष्ठले जातिय, वर्गीय, लैङ्गिकता, शिक्षा, संस्कृति, पद र स्थान, क्षेत्र, सामाजिक वर्चस्वको हिसाबमा एउटा सीमित वर्गको मात्र पहँुच हुने र सवाल्टर्न वर्ग यी कुराको पहुँचबाट बन्चित हुने भएकाले उनीहरुको समाजिक साँस्कृतिक जीवनशैलीमा नकारात्मक असर परेको बताए ।
सामाजिक मान्यतामा जुन कुरालाई उच्च र निच्च भनेर व्याख्या गरिएको छ, त्यो कुरालाई उल्ट्याइयो भने सवाल्टर्न वर्गका जीवनशैलीमा सकारात्मक परिवर्तन हुने कुरा लेखक पाठकको धारणा थियो ।
पहिलो दिनको दोस्रो सेसनमा ‘मजदुर ः कोषको खम्बा’ शीर्षकमा मदन कुमारको सहजीकरणमा अधिवक्ता श्रीराम चौधरी र मानवअधिकारकर्मी दिलबहादु चौधरीले बहस गरेका थिए ।
श्रीरामले देशको विकास निर्माणमा मजदुरहरूको निकै महत्वपूर्ण योगदान भएको बताए । तर, राज्यले उनीहरू हकहीतका निम्ति नियम कानुन बनाए पनि कार्यान्वयन पक्ष कमजोर भएर श्रमजीवी मजदुरलाई जीवन धान्न निकै कठीन भएको बताए । त्यसैले मजदुरका लगि विशेष सुविधा ल्याउनुपर्ने उनको सुझाव छ ।
अर्का वक्ता दिलबहादुरले थारु समुदायका मजदुरहरुका कुरा उल्लेख गर्दै केही वर्ष अघि मुक्त भएका कमैयाहरू पनि पुनःस्थापित भइनसकेको अवस्थामा अहिले अन्य मजदुरका समस्या हल होलान् भन्न यसै नसकिने बताए । त्यसैले राज्यले यतातिर ध्यान दिनुपर्छ भन्ने उनको निष्कर्ष रहेको छ ।
भुलभुलैयामा
फेस्टको दोस्रो दिनको पहिलो सेसनमा ‘भुलभुलैयामा थारुदृश्यचित्र’ शीर्षकमा थारु रंगकर्म, चित्रकला र चलचित्रबारे बहस भयो । बहसमा अजित लामिछाने (लेखक÷निर्दशक), सुधराम दहित (कोरियोग्राफर), मिठ्ठु थारु (चित्रकार÷मुर्तिकार), विवस चौधरी (मोडेल÷कोरियोग्रफर) र प्रणव आकाश (लेखक÷निर्दशक) सहभागी थिए भने सहजकर्ता थिए, संचारकर्मी इन्द्र चौधरी ।
रंगमन्चमा थारु कलाकारहरूको पहुँच र व्यवस्थापनमा समस्या भएको कारण रंगमन्चमा थारु नाटक मन्चनमा कठीनाइ भएको निर्देशक प्रणवको अनुभव छ । त्यसैगरी थारु ऐतिहासिक चलचित्र ‘बुह्रान’ का निर्देशक लामिछानेले आफ्नै मौलिक कथा बोकेका चलचित्र बनाउन सके आफ्नो भाषा, कला, संस्कृति र पहिचानलाई जीवन्त राख्न सकिने विचार राखे ।
एउटा म्युजिक भिडियोको कमाइबाट अर्को भिडियो बनाउ सकिने अवस्था रहेको दहितले बताए । त्यसैले कलाकारहरू आफै पैसा लगानी गरी मोडलिङमा आउने र हराउने प्रवृत्ति बढेको तर, टिकीरहन नसक्ने अवस्था सिर्जना भएको बताए । हाल आइरहेका थारुगीत प्रायः एकै खाले संगीत आउनाले कोरियोग्राफीमा अलमल हुने बताए ।
चित्रकलामा थारु समुदायका युवाहरूको चासो न्युन भएको चित्रकार मिठ्ठुको बुझाइ छ । नेपालको सन्दर्भ अहिले यसै क्षेत्रबाट जीवन चलाउन केही कठीन भएको अनुभव सुनाए । यद्यपी यसलाई बजारीकरण गर्न सके राम्रो आम्दानीका साथै ख्याति पनि पनि प्राप्त गर्न सकिने उनको विचार छ ।
‘भाषा हराए ज्ञान लोप हुने’ भन्ने भनाईलाई आत्मसाथ गरी यसलाई जोगाउन र पुस्तान्तरण गर्न स्थानीय जनप्रतिनिधिलगायत सम्बन्धित समुदायका अगुवाले पहल गर्नुपर्ने बहस ‘भुलभुलैयामा सामुदायिक भाषा सिकाइ र पुस्तान्तरण’ शिर्षक अन्तर्गत चलेको थियो । साथै रेडियोकर्मी एकराज चौधरी, राना थारू भाषाविद् कमलसिंह राना, नेपाल भाषा अभियन्ता दीपक तुलाधर तथा सञ्चारकर्मी कृष्णराज सर्वहारी प्यानलिस्ट भएको उक्त कार्यक्रममा मातृभाषाको पाठ्यक्रम लागू सम्बन्धमा विशेष बहस चलेको थियो । सहजीकर्ताको भुमिकामा सुमित्रा चौधरी थिइन् ।
आज फेस्टको अन्तिम दिन अर्थात ‘ओझेलमा’ शीर्षक अन्तर्गतको ‘थारु लोकलय र परम्परागत व्यवस्थाहरू’ मा भुवन चौधरी (अध्यक्ष थारु उत्थान समाज), सोम डेमन्डौरा (लेखक÷अनुसन्धाता), छविलाल कोपिला (सम्पादकः लावा डग्गर त्रैमासिक) र सोमती थारु (गायिका) बहसमा सहभागी हुने भएका छन् भने सहजीकरण सबी थारु (पत्रकार) ले गर्दैछन्र ।
त्यसैगरी ‘थारु सौन्दर्य’ विषयक शीर्षकमा सुशील चौधरी (लेखक÷अनुसन्धाता), केबी चौधरी (उपप्रध्यापक टि.यु.), मानबहादुर चौधरी ‘पन्ना’ (लेखक÷अनुुसन्धाता) प्यानलिस्टका रुपमा आउने भएका छन् भने सहजीकरण प्रणव आकाशले गर्ने भएका छन् ।

Comments

comments