भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु
1 min read
सेतोपर्दा
भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको छ । इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित उनको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका गरिएको थियो
मंगलबार इरफानका एक प्रवक्ताले भने उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेका थिए । उनले भनेका थिए, ‘हो, इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको छ । उहाँलाई कोलोन इन्फेक्सन भएको छ । हामी उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहनेछौं । अहिले उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ । उहाँको शक्ति र साहसका कारण अहिलेसम्म यो रोगसँग लड्दै आउनु भएको छ । हामी विश्वस्त छौं कि उहाँको अपार इच्छा शक्ति र उहाँलाई माया गर्ने सबैको प्रार्थनाले चाँडै नै निको हुनुहुनेछ ।
सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको थियाे । करिब एक बर्ष लन्डनमा उपचार गराएका थिए । उपचार पछी उनी गत वर्ष फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।
गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको भारतिय मिडियाले जनाएका छन् ।
कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।
खानलाई उत्कृष्ट अभिनय गरे वापत २०११ मा भारतिय पद्मश्री बाट सम्मान गरिएको थियो।