Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

यो देश कसको हो ? ( कविता ) -बाबु त्रिपाठी

1 min read
ओखती हो कि चामलको लाममा घण्टौँ उभिएर रित्तो हात घर फर्कन विवश मेरा देशवासीहरूजस्तै को हुन् तिनीहरू ?


यो देश कसको हो ? ( कविता )

-बाबु त्रिपाठी

को हुन् तिनीहरू
जो आफ्नै आँखाहरू बालेर हिँडेका छन्
अँध्यारोमा कर्नालीको तिरैतिर ?

ओखती हो कि चामलको लाममा
घण्टौँ उभिएर
रित्तो हात घर फर्कन विवश
मेरा देशवासीहरूजस्तै को हुन् तिनीहरू ?

तुइनमा झुन्डिएर
तिनीहरू
कहाँ जान लागेका हुन् ?

कसका छोरा, नाती हुन्
तिनीहरू
जो रूँदैरूँदै
देश छोडेर हिँडेका छन् ?

कसका छोरी,बुहारी हुन्– तिनीहरू
जसलाई खुलेआम बेचिएको छ
लगेर वेश्यालयहरूमा ?

को हिँडेको हो
पृथ्वी थर्कने गरी
पिठियुँमा पहाडजत्रो भारी बोकेर ?

पसिना पोखिएका
ती उर्बर भूमिहरू
किसानहरूका हुन् कि साहुका हुन् ?

कसले बनाएको हो– कानुन ?
र, सर्वस्वसहित
जन्मकैद सुनाइएका
ती निर्दोष कैदीहरू को हुन् ?

मान्छे भन्नेले– आगो लगाएको
त्यो झुपडी कसको हो ?
र, खरानी भएका
ती जम्मै सपनाहरू कसका हुन् ?

रित्तो पैताला
पाठशाला हिँडिरहेका–
ती नानीहरू कसका हुन् ?
र, नानीहरूसँगै हिँडिरहेको
यो देश कसको हो ?

तस्वीर: अनलाइन खबर ग्राफिक्स सेताेपर्दा

भिडियाेमा हेर्नुहाेस

Comments

comments