Thu. Feb 25th, 2021

Seto Parda

Digital Film Patrika

रूचाइँदै नेपाली गायन रियालिटि शाे ‘नेपाल स्टार’

1 min read
अन्य कार्यक्रम विभिन्न विवादमा तानिइरहेका बेला नेपाल स्टार त्यस्ता विवादबाट मुक्त रहेर स्वच्छ रुपमा उत्कृष्ट प्रतिभा चुन्न सक्छ या सक्दैन भने हेर्न बाँकी छ ।

सेतोपर्दा ।

यतिबेला नेपाली टेलिभिजनमा दुई वटा गायन रियालिटि शो चर्चामा छन् । ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’ । ‘भ्वाइस अफ नेपाल’को भर्खर दोस्रो संस्करण सम्पन्न भएको छ भने ‘नेपाल आइडल’को तेस्रो संस्करण चलिरहेको छ । टेलिभिजनमा यी शोका दर्शक कति छन् एकिन तथ्यांक नभए पनि युट्युवमा भने राम्रै भ्युज बटुल्ने गर्छन् । तर, यी दुवै शो विदेशी कार्यक्रमका नेपाली संस्करण हुन् ।

यस्तैमा नेपाली मौलिक गायन रियालिटि शो ‘नेपाल स्टार’ सुरु भएको छ । केही महिना अघिदेखि प्रतियोगी छनोट प्रक्रिया सुरु गरेको यस कार्यक्रमको यही हप्तादेखि टेलिभिजनमा प्रसारण पनि सुरु भएको छ । सातै प्रदेशमा गएर अडिसन गरिएको कार्यक्रमको पहिलो भागमा पोखरा अडिसन प्रसारण गरिएको छ ।

कार्यक्रमको पहिलो भाग युट्युवमा पनि सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक भएको उक्त भिडियोलाई झण्डै साढे २ लाख पटक हेरिएको छ । कार्यक्रमले अधिकांश सकारात्मक प्रतिक्रिया पाइरहेको छ । नेपाली कार्यक्रम भएकाले यसलाई अन्य विदेशी फ्रेन्चाइजको विकल्पको रुपमा पनि हेर्न थालिएको छ । नेपाल स्टारको सफलतासँगै नेपाली मौलिक टेलिभिजन रियालिटि शोको पनि सफलता जोडिएको छ । अन्य कार्यक्रम विभिन्न विवादमा तानिइरहेका बेला ‘नेपाल स्टार’ त्यस्ता विवादबाट मुक्त रहेर स्वच्छ रुपमा उत्कृष्ट प्रतिभा चुन्न सक्छ या सक्दैन भने हेर्न बाँकी छ ।

कार्यक्रममा गायक राम कृष्ण ढकाल, गायिका अञ्जु पन्त र संगीतकार आलोकश्री निर्णायकको रुपमा रहेका छन् । कार्यक्रम हरेक हप्ता नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ साथै नेपाल टेलिभिजनको युट्युव च्यानलबाट पनि सार्वजनिक हुन्छ ।

Comments

comments