Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

धर्मराएको कथावाचन शैलीमा जोकरको कलेवर

1 min read
दर्शकहरुको चार्म हुँदा हुँदैको सेल्फी किङलाई किन गाडी मार्फत बोलाइयो वा गायकको कुरै छाडाैँ, स्टाण्ड अप कमेडियनलाई प्लेन मार्फत बोलाइनाको कारण खुलेकाे छैन।

सेताेपर्दा ।

चलचित्रको आफ्नै भाषा हुन्छ, गति हुन्छ । जुन गति अनुसार कथा बगेन, पात्रहरु सल्बलाएनन् भने त्यो चलचित्रको गति नै धिमा हुन्छ । जसलाई आम भाषामा झुर चलचित्र भनिन्छ ।

शुक्रबार चलचित्र क्षेत्रलाई तरंगीत गराउदै चलचित्र ‘सेल्फी किङ’ रिलिज भयो । हलिउड चलचित्र ‘जोकर’को पात्रको हुलियासँग मेल खाने पोस्टर सार्वजनिक भएकाले पनि यो चलचित्र चर्चामा थियो । आलोचनाका बाबजुद सकारात्मक बाछिटा पनि थिए । कपि नै भए पनि जोकर स्तरको कपि भइदिए नेपाली चलचित्र जगतलाई नै राम्राे हुने थियो।

तर विडम्बना यी दुवै आँकलनहरु मिथ्या भए, न त ‘जोकर’को हुलियासँग मिलेको ‘सेल्फी किङ’ को कथा मिल्यो न मेकिङमा कुनै प्रभाव देखियो ।

एउटा टिभिमा आउने कमेडि सिरियलको पात्रको भोगाई माथि बनाईएको चलचित्र हो ‘सेल्फी किङ’ । कथाको बनावटको हिसाबले हेरिँदै आएका नेपाली चलचित्र भन्दा खासै फरक छैन्। विरामी बाबु, निरिह आमा, किचकिचे श्रीमती, विबस एक कलाकार, यिनै पात्रहरुको आसपासमा चलचित्र घुमिरहन्छ ।

चलचित्रको कथाको संरचनाको हिसाबले ‘सेल्फी किङ’ आम चलचित्रको क्लिसे पुनरावृति नै हो । यसमा फरक यति हो चलचित्रको मुख्य पात्र कलाकार हो ।

चलचित्रको पर्दामा हेर्दा दर्शकलाई जबरजस्ती त्यो कलाकार हो, स्टार हो भन्ने पटक पटक अनुभुति गराउन खोजिन्छ। सोझो भाषामा ऊ चर्चित कलाकार हो भन्ने स्थापित गर्न सर्जकले अनेकन दिक्क लाग्दा जालझेल गरेका छन् जसले दर्शकसँग चलचित्रलाई जोड्न भन्दा दिक्दारीमा धेरै भूमिका खेलेको छ ।

चलचित्रको प्रमुख कमजोरी पटकथा मै छ। कथाको संरचनालाई बलियो बनाउनका लागि पटकथाको भूमिका शुन्य जस्तै छ । एउटै कुरालाई पटक पटक दोहोर्याए भन्न खोज्नु, दृश्य भाषा भन्दा संवादको साहयताले कथा बुझाउन खोज्नु चलचित्रका लागी घातक बनेको छ ।

सत्यघटनालाई आख्यानमा ढालिएको भनिएको कथाको संरचना मात्र होइन पात्रको चरित्र निर्माणमा समेत गम्भिर त्रुटि देखिन्छन्ज, जसले चलचित्रमा पात्र किन र कसरी त्यो जीवन बाचेको छ भन्ने कुरामा दर्शक दुविधामा पर्छन् ।

मुख्य पात्र गोपाल दाहाल उर्फ सेल्फी किङले अत्याधिक मात्रामा रक्सी पिउनु पात्रको संरचना हो या कलाकार जँड्याह हुन्छन् भन्ने लेखक तथा निर्देशकको स्टेरियो सोच हो चलचित्रमा छुट्याउन गाह्रो छ । पात्र गोपाल दाहाल त्यती धेरै जँड्याह हुनुको कारण चलचित्रमा देखिदैन् । सत्य घटनालाई आख्यानिकरण गरिएको भनेकाले सत्य घटनाको साँच्चीकै पात्र नै जँड्याह नै हो भन्ने तर्क गर्ने हो भने सत्य घटनाकै आख्यानिकरणको संरचनामा पनि विकास हुन जरुरी देखिन्छ । यस्तै पात्रको पुनरावृत्ति हो फोनमा बोल्ने उसकी प्रेमिका ।

बाबुको उपचारको लागि चौबिस घण्टे गाडीमा जान बाध्य हुने पात्र परिवार प्रति नै कसरी लापर्वाही गर्न सक्छ? जसमा सजिलोसँग बुनिएको छ मोवाईलको ब्याट्रि परिवार र सेल्फी किङको सञ्चारको बाधक हो । जसको संरचनाले नै दर्शकलाई पहिल्यै भान हुन्छ उसको प्रस्तुति भन्दा अगाडी बाबुको खबर आउँदैछ । यस्ता संरचनाले निर्देशकको अपरिपक्वता देखिन्छ । स्वयं लेखक समेत रहेका निर्देशक कथाको संरचनालाई अगाडि बढाउनमा चुकेका छन् ।

चलचित्रमा दर्शकहरुको चार्म हुँदा हुँदैको सेल्फी किङलाई किन गाडी मार्फत बोलाइयो वा गायकको कुरै छाडाैँ, स्टाण्ड अप कमेडियनलाई प्लेन मार्फत बोलाइनाको कारण खुलेकाे छैन। महत्वको हिसाबले गाडीबाट बोलाईएको हो या पोस्टरमा सानो पोस्टर राखिएको हो भने, अन्तिममा प्रस्तुति दिन नसक्दा तपाईले प्रस्तुति नदिए बबार्दै हुन्छ भन्दै आयोजक गिड्गिड्याउनुको बिरोधाभाषले चलचित्रको कथ्य संरचना र निर्देशकिय दृष्टिकोणबाट निर्देशक लरबराएकाछन् ।

मुख्य पात्रलाई जबरजस्ती निरिह र कमोजर बनाएर द्वन्द्व विनाको कथ्य संरचना रच्नु, सेल्फी किङ रुदै स्टेजमा जाँदा गलल हासिरहेका दर्शकको रियाक्सन सट उ स्टेजमै ढल्दा उपेक्षा गरिएको दर्शक, बाबुलाई भेट्न संघर्ष गरिरहेको पात्रकी आमाले ‘बाबुलाई माया गर्थ्येा अन्तिम पल्ट मुख हेर्न देउ’ भन्दै पटक पटक दोहोर्याएको संवाद, बाबुलाई अन्तिम मुख हेर्नको लागि अनेकन् दुःख झेल गर्दै आएको पात्र अन्तिम दृश्यमा मोटरसँगै घाटमा देखिनु निर्देशक तथा लेखकको बालापन नै हो ।

चलचित्रको निर्देशकीय पक्षका कारण चलचित्रको अन्य पक्षहरुले दरिलो उपस्थिती जनाउन सकेका छैनन् । फरक र मेहेनती अभिनेता भनेर चिनिएका विपिनको चरित्र बलजफ्ती पात्र निर्माणमा खर्चिएको भान हुन्छ । विपिनले अभिनयमा गरेको मेहनत कमजोर कथा र निर्देशनका हिसाबले बालुवामा पानी भरे सरह भएको छ । सहायक पात्रको रुपमा देखिएका लक्ष्मी बर्देवा, जीवन भट्टराई, अभय वराल, भुवन चन्द, लोकमणि सापकोटा जस्ता कलाकारले अभिनय पक्ष दरिलो भएपनि कथ्य संरचनामै पात्रहरुको निर्माणका कारण ओझेलमा परेको छ ।

चलचित्रमा केकी अधिकारीको गीत ‘जाली रुमाल’ बेतुकको लाग्छ तर ‘जीन्दगीको के भर छर’ गीतले चलचित्रको साख जोगाएको छ ।

चलचित्रमा प्रयोग भएको ध्वनी र दृश्य संयोजनकाे तारतम्य पाउन सकिँदैन अझ भनौ गतिलो ध्वनी संयोजन भएको ठाउँमा दृश्यले आक्रारान्त पारिरहेका हुन्छ । छायाँकारले पात्र अनुसार क्यामेरालाई ढाल्न चुकेका हुन या निर्देशकको सिर्जनशिलताले बाँधिएका हुन् दुविधा उत्पन्न हुन्छ ।

समग्रमा ‘सेल्फी किङ’ निर्देशकका लागि मुतको न्यानो जस्तै हो । विपिनका प्रशंसकहरुका लागि निरासाजनक चलचित्र हो । एक प्रतिभावान कलाकारका लागि कथा र पटकथा छनोटमा कति ध्यान दिनुपर्छ सिकाइ पनि हो । विदेशी चलचित्र हुवहु कलेवरमा मन पराउने मेकरले विदेशी चलचित्रको मेकीङमा नदेखाएको रुचिको खिसिट्युरी हो।

Comments

comments