डा. कृष्णहरि बरालका तीन गजल
1 min read
गजल १
इन्टेन्सन खराब भएपछि के नै गर्न सकिन्छ र
भित्री मन खराब भएपछि के नै गर्न सकिन्छ र
अरुको प्रसंसा गर्न गाह्रो मान्छन् सज्जन भनौदा त
हर दुश्मन खराब भएपछि के नै गर्न सकिन्छ र
अमृत पनि विष हुन्छ डेट एक्सपायर भयो भने
विष नै झन खराब भएपछि के नै गर्न सकिन्छ र
राम बन न भन्यो कृष्ण नै बन्न खोज्छ यो मन पनि सधैँ
एफ योवन खराब भएपछि के नै गर्न सकिन्छ र
गजल २
मायामा समाधि हुन्छ जानी राख्नु काम लाग्छ
भित्र भित्र आँधी हुन्छ जानी राख्नु काम लाग्छ
एक्लोमा नै पूर्ण हुन्छु भन्ने होलान कोही कतै
पुरा होइन आधी हुन्छ जानी राख्नु काम लाग्छ
दोहोरोमा चल्छ माया फूल्छ माया फल्छ माया
एकोहोरो बर्बादी हुन्छ जानी राख्नु काम लाग्छ
बिटुलिन्न मायामा म जति भनुन भन्नेहरु
चन्द्रमा त दागी हुन्छ जानी राख्नु काम लाग्छ
गजल ३
माया हुनु मन नहुनु यस्तो पनि कहीँ हुन्छ
सास हुनु जीवन नहुनु यस्तो पनि कहीँ हुन्छ
के के भन्दै दिक्क पारी श्रीमतीले भन्दै थियो साइँला
पत्नी हुनु गनगन नहुनु यस्तो पनि कहीँ हुन्छ
फूलै फूल त कहाँ पाइन्छ र टेक्नलाई सधैँ भरी
लक्ष्य हुनु उल्झन नहुनु यस्तो पनि कहीँ हुन्छ
आँखा झिम्क्याएँ रे मैले उ त्यो राम्री केटीलाई
आँखा हुनु झिमझि नहुनु यस्तो पनि कहीँ हुन्छ
डा. कृष्णहरि बरालले लाजवाबमा वाचन गरेका गजल
हेर्नुहाेस् भिडियाेः