Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

बग्न नसकेको बागमती

1 min read
समग्रमा ‘बागमती’ राजेश हमालका फ्यानका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्रै हुन सक्नेछ । बेतूकका स्क्रिप्टवाला फिल्म खेलेको आरोप खेप्दै आएका राजेशका लागि ‘बागमती’ पछि पनि आरोप लाग्न सक्छ, ‘अब नेपाली फिल्म उद्योग पहिलो जस्तो परम्परागत रहेन । तर राजेश अझै उही राजेश नै छन् । परिवर्तन हुने कहिले ?

फिल्म : बागमती

निर्देशक : सन्नी केरला
कलाकारहरु : राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, कन्चन ठकुरी, रविकरप्रसाद घिमिरे

नेपाल पहिलेको नेपाल रहेन, त्यो मलाई थाहा छ । तर राजेश अझ त्यही राजेश हो । राजेश हमालको उक्त संवादसँगैको प्रोमो प्रस्तुतीकरणले ‘बागमती’ वजनदार हुनसक्ने संकेत दिएको थियो । दक्षिण भारतीय प्रविधि र प्राविधिकको टोलीलाई ल्याएर राजेश हमालको ‘कमब्याक’ गराउन खोजेका निर्देशक सन्नीको काम हेरिसकेपछि राजेश अझ त्यही राजेश नै रहेछन् भन्न कर लाग्छ । ठूलो हल्लीखल्लीबीच ल्याइएको ‘बागमती’ मा राजेशका फ्यान निराश बन्न सक्छन् । राजेश प्रोमोमा जति उचाई लिएका छन्, पौने दुई घन्टाको फिल्ममा बढाउन सकेका छैनन् ।
‘बागमती’ मुख्यत: बाबुछोरीको कथा हो । मुटु रोगी छोरीको उपचारमा १६ लाख रुपैया जुटाउनका लागि भौतारिएको बाबुलाई आईपर्ने र गर्ने गलत कामको फेहरिस्त हो, फिल्म । जसमा बाबुको भुमिकामा देखिएका नयाँ कलाकार रविकरप्रसादको अभिनय फितलो लाग्छ । तुलनात्मक रुपमा छोरी कन्चन शसक्त छिन् । फिल्मको विषयबस्तु र प्रचारात्मक सामाग्रीबीच तालमेल देखिदैन । शिव श्रेष्ठ शुरुवातमा एक द्वन्द्व दृश्यमा देखिन्छन् र म्याजिक आउट शैलीमा हराउँछन् ।
त्यसो त बाबुछोरीको कथामा राजेश पनि अटाउन सकेका छैनन् । फिल्मले राजेशको स्टाइल र संवादमा जति मिहिनेत गरेको छ, चरित्र स्थापित गर्न दु:ख गरेको देखिदैन । दुई वर्ष मानसिक अस्पताल भर्ना भएको आफ्नै पत्निको हत्या गर्ने साइको भनिएका राजेश भिलेन हुन् वा हिरो हुन् ? मुख्य कलाकार हुन् वा सहायक हुन् ? ‘बागमती’ मौन बस्छ । दर्शक रनभुल्लमा पर्न सक्छन् । त्यसो त फिल्मले अझै बाँकी छ भनेर कथालाई सिक्वेलसम्मका लागी धेकेलेर पन्छिने बठ्याई पनि गरेको छ ।
‘बागमती’ कथा, प्रस्तुती र अभिनयमा कमजोर भएपनि प्राविधिक पक्षमा भने केही सबल देखिन्छ । छायांकन, पृष्ठभुमि संगीतले फिल्मको स्तरलाई उकास्ने काम गर्छन् । एक्सनको कोरियोग्राफीले फाइट मन पराउने दर्शकका लागि स्वादिलो लाग्न सक्छ । तर जति एक्सन फिल्म भनिएको हो, त्यस मात्रामा फिल्मले द्वन्द्व पस्कन भने सकेको छैन । फिल्मको सबैभन्दा चुकेको पक्ष थ्रीललाई तार्किक बनाउन नसक्नु हो । दिनदहाडै प्रहरी मारेर भागेको अपराधीमा डरको भाव नदेखिनु र प्रहरीकै सामुन्नेबाट अपराधी ओहोरदोहोर गरिरहनुले परिस्थितीको उपहास गरेको छ । राजेश आफैं ‘मान्छे जति त्रसित हुन्छन, म उती रोमान्चित हुन्छु’ भन्छ । तर न उसित मान्छे त्रसित नै हुनुपर्ने पर्याप्त कारण फिल्मले छोड्न सकेको छ, न त ऊ रोमान्चित बन्नका लागि त्यस्ता हर्कत नै गर्छ । बरु फिल्म पछिल्लो समय विषयान्तर हुँदै बागमती नदीको परिभाषासम्म पुग्छ ।
समग्रमा ‘बागमती’ राजेश हमालका फ्यानका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्रै हुन सक्नेछ । बेतूकका स्क्रिप्टवाला फिल्म खेलेको आरोप खेप्दै आएका राजेशका लागि ‘बागमती’ पछि पनि आरोप लाग्न सक्छ, ‘अब नेपाली फिल्म उद्योग पहिलो जस्तो परम्परागत रहेन । तर राजेश अझै उही राजेश नै छन् । परिवर्तन हुने कहिले ?

फिल्मकर्मीको  प्रतिक्रीया

Comments

comments